पोखरा । पोखरा १३ मा रहेको सल्लाघारी डाँडामा पार्क निर्माण हुने भएको छ । स्थानीय सत्ययुवा सेवा समितिले सो ठाउँमा रमणीय पार्क निर्माण गर्न लागेको हो ।
‘सल्लाघारीमा निर्माण हुने पार्कले पोखरामा एउटा पर्यटकीय गन्तव्य थपिने र पोखरा १३ को पर्यटन प्रवद्र्धनसमेत हुने भएकाले हामीले यो निर्णय गरेका हौँ,’ सत्य युवा सेवा समितिका अध्यक्ष हितमान गुरुङले भने, ‘पार्कसम्म जानको निम्ति सिँढी पनि बनाइने छ, पार्कमा पुग्नेले पोखराको उत्तरपूर्वी क्षेत्रको रमणीय दृष्य हेर्न पाउनेछन् । पोखराको नजिकको क्षेत्रमा एउटा बनभोजस्थल पनि थपिने छ ।’
उनका अनुसार सल्लाघारीमा पार्क निर्माणको लागि गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ विनियोजन गरेको छ । तर, सो रकमले मात्र नपुग्ने र थप पूर्वाधारसमेत निर्माण गर्नुपर्ने आवश्यकता भएको पनि उनको भनाइ छ । त्यही आवश्यकतालाई पूरा गर्न सत्य सेवा समितिले आउँदो असोज २५ गते १९ औं संस्करणको ‘कालरात्री म्युजिकल फेस्टिभल–२०८१’ आयोजना गर्ने भएको पनि उनले जनाए ।
अध्यक्ष गुरुङका अनुसार कालरात्री म्युजिक फेस्टिभलमा पूर्ण राई एण्ड दाजुभाइहरु, दी ड्रिमेज ब्याण्ड, नेपाल आइडलको अन्तिम ५ मा पुगेका मानव परियार, रोहनजंग कार्कीलगायतको प्रस्तुति रहनेछ । सो कार्यक्रमको सञ्चालन चाहिँ आयुष श्रेष्ठले गर्नेछन् । गीत–संगीतमार्फत् मनोरञ्जन प्रदान गर्नुका साथै युवालाई रचनात्मक कार्यमा लगाउने उद्देश्यले कालरात्री म्युजिक फेस्टिभल आयोजना गरिएको अध्यक्ष गुरुङको भनाइ छ ।
‘कालरात्री म्युजिक फेस्टिभल परम्पराको निरन्तता पनि हो, युवालाई एकै ठाउँमा भेला गराउने अवसर पनि हो,’अध्यक्ष गुरुङले भने ‘तर, यो पटक हामीले नयाँ रचनात्मक काम पनि गर्दैछौं । पर्यटनको राजधानी पोखरामा थप एउटा पर्यटकीय गन्तव्य पनि निर्माण हुँदैछ ।’
फेस्टिभललाई देश विदेशबाट सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले सबै सहयोगीलाई धन्यवाद व्यक्त गरे । बाँझापाटनमै हुने कार्यक्रमको अनलाइन टिकट बुकिङ भइरहेको छ । टिकट दर ५ सय र १ हजार कायम गरिएको छ ।
Comments are closed.