सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन २ सय उडान भएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौंबाट १९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकप्टरले १३९ उडान भरेका छन् । उक्त दिन १ हजार ५३९ जना पर्यटक खुम्बु भित्रिएका छन् ।
हवाईजहाजबाट १६७ स्वदेशी र ६६७ जना विदेशी गरी ८०४ तथा हेलिकप्टरबाट ६९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने उनको भनाई छ । यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् ।
लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए । पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पा बताउँछन् । उनी भन्छन्, “अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।”
पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले जानकारी दिए ।
२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए । सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।
निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको सङ्या तीन हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलको भनाई छ ।
Comments are closed.