मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । पूर्वसञ्चारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गर्दै २२ वर्ष सञ्चारकर्मको अनुभवलाई सुनाएका छन् । पौडेलले सकरात्मक सोँचले नै आफुमा परिवर्तन आउने उल्लेख गरे ।

“म करिब २२ वर्ष सञ्चार कर्ममा लागे । सञ्चार क्षेत्रले मलाई धेरै पाठ सिकायो, कर्मलाई आत्मसात् गर्दै सकारात्मक विचार राखियो भने सफलता मिल्छ, त्यसैले सकरात्मक सोचौं ।”, उनले भने ।

पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाई र गराईमा फरकपन आयो भने समस्या हुने उनको भनाई छ । मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए ।

“राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन । व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नुु ? भन्ने सोच पाल्नुभएन ।”, उनले भने । हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको र बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने उनी बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता समेत रहेका उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए ।

कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् । उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माले जानकारी गराए । विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरी क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढीरहेको उनी बताउँछन् ।

You might also like

Comments are closed.