ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री

देउखुरी (दाङ) । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् ।

तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् । भास्करसँगै प्राविधिक सहायक दशरथ साउद पनि फूलखेतीमा लाग्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नु भएका साउदले फूलखेतीमा लाग्ने रोगकिरा र अन्य प्राविधिक पक्ष हेर्छन् ।

कपिलवस्तुमा ६ वर्ष पहिलेदेखि फूल खेतीमा लागेका पंगेनी र साउदले ३ वर्ष अघिदेखि दाङमा व्यावसायिक फूलखेती विस्तार गरेका हुन् ।घोराही–१५ भरतपुरमा १७ कट्ठा जमिन मासिक रु २ हजार भाडामा लिएर उनीहरुले फूलखेती गरिरहेका छन् । गत वर्ष तिहारमा मात्रै रु १३ लाखको फूल बिक्री गरेको साउदले बताएका छन् । तिहार पछाडि सयपत्री फूलेपछि सोही स्थानमा ‘टिकटक स्पट’ बनाएर रु ५ लाख आम्दानी गरेको उनी बताउँछन् ।

यसपालि एकै सिजनमा १५ देखि २० लाख आम्दानी गर्ने लक्ष्य उनीहरुको छ । उनीहरुले २ वर्ष अगाडि कर्मा–५५५ जातको सयपत्री फूलबाट खेती सुरु गरेका थिए । यसपाली कर्मा ५५५, कर्मा–९९९ यल्लो गरी २ जातका सयपत्रीका बिरुवा रोपेका छन् । दाङमा रु ८० हजारको बीउ किनेर बेर्ना राखेको दशरथ साउदले बताए ।

“यी सबै फूलको बीउ थाइल्यान्डबाट ल्याएर उमारेका हौँ”, उनले भने, “यसपालि रु २ लाखको बेर्ना बिक्री भइसक्यो । बिरुवाको जात हेरेर प्रतिगोटा रु २ देखि ५० सम्ममा बिक्री हुने गरेको छ ।” स्वदेशमै कृषिबाट आम्दानी गर्न सकिने अर्का व्यवसायी भास्कर पंगेनी बताउँछन् ।

उनले बेरोजगार युवालाई कृषिमा जोड्ने उद्देश्यले १०८ अवधारणा बनाई कृषि फार्मको नाम नै १०८ राखेका छन् । फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल भण्डारण गर्ने चिस्यान केन्द्र नहँुदा लामो समयसम्म राख्न समस्या भएको उनी बताउँछन् ।

राम्रो चिस्यान केन्द्र भएमा स्वदेशमा उत्पादित सयपत्री विदेश निर्यात गर्न सकिने उनले बताए । फूलमा नेपाललाई आत्मनिर्भर बनाउने उद्धेश्यले जिल्लाहरुमा क्षेत्र विस्तारको योजना बनाएको पंगेनीको भनाइ छ ।

You might also like

Comments are closed.