पर्यटक लोभ्याउँदै रामपुरको ‘बुद्धपार्क’

सुशीला रेग्मी
रामपुर (पाल्पा) । झाँडी र झारपातले भरिएको तीसमुरे चौर अहिले चिटिक्क बनेको छ । तीसमुरे चौर झारपात र झाँडीले भरिएको थियो । झाँडीले भरिएको चौरले पर्यटकीय रुप फेर्ला भन्ने कसैले पनि नजर अन्दाज गर्न सम्म पनि भ्याएका थिएनन् ।

पाल्पा रामपुर नगरपालिका ६ स्थित तीसमुरे चौर (हालको बुद्धपार्क) लाई अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरेपछि पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । यहाँका स्थानीयको सक्रियतामा यो क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा विकसित बन्दै गएको छ । तीन वर्ष पहिला यहाँ देख्ने जो कोहीले पनि पर्यटकीयस्थल बन्छ भन्ने कल्पना पनि गरेका थिएनन् ।

यहाँको सौन्दर्यकरण देखेर जोकोही पनि दङ्ग पर्छन् । तीसमुरे चौरलाई अहिले बुद्धपार्कका नामले नामाकरण गरिएको छ । यहाँ बुद्धको मूर्ति स्थापना गरी बुद्धपार्कका नामले पर्यटकीय गन्तव्यस्थलको रुपमा यो क्षेत्र प्रख्यात बनेको छ । रामपुर नगरपालिका वडा नं.६ ले वडामा रहेका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्दै त्यसको व्यवस्थापन र उपयोग गर्ने गरी कार्यक्रम सुरु गरेसँगै तीसमुरे चौर बुद्धपार्कमा परिणत भएको हो ।

आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षण बनेको छ । पक्की सडकले चारैतिर घेरेको यस पार्कको सुन्दर दृश्यले बाटो हिड्ने यात्रुलाई लोभ्याइरहेको हुन्छ । पार्कभित्र विशाल बुद्ध मूर्ति स्थापना, व्यवस्थित घेराबार, प्रवेशद्धार निर्माण, प्रतिक्षालय निर्माण, खुला व्यायामशाला तयार पारिएको छ । पार्कमा आन्तरिक पर्यटक आउने जाने क्रम बढ्दै जादा व्यायाम गर्नका लागि व्यायामशाला निर्माण गरिएको हो ।

यहाँ व्यायामशाला निर्माण भएपछि विहान साँझ व्यायाम गर्न जानेको उत्साहजनक उपस्थिती छ । आर्थिक वर्ष २०७७/०७८ मा वडा कार्यालयले चौरको सरकारी जग्गा छुट्टाएर घुम्ती बाटो पक्की गरी कार्यक्रम सुरु गरिएको हो । चौरभित्र रहेको अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरी आ.व.२०७८/०७९ मा रु. २ लाख ५० हजार बजेट विनियोजन गरी गौतम बुद्धको मूर्ति स्थापना गरेर पर्यटन पूर्वाधारका कार्यहरु थालनी गरिएको हो ।

बुद्धको मूर्ति स्थापना गरी अभियान सुरु गरेपछि प्रदेश सरकारको आर्थिक अनुदान सहयोगमा चौरको खाल्डोमा माटो भर्ने काम गरियो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था र समाजसेवी रामप्रसाद लम्सालको आर्थिक सहयोगमा पार्कभित्र दुई वटा प्रतिक्षालय निर्माण गरिएको छ । यस पार्कको सुन्दरतालाई बढाउन गत आर्थिक वर्षमा रामपुर नगरपालिकाले कालीआँप विजयपुर बुद्धपार्क हुँदै तालपोखरा तिलकपुर पुष्पमार्ग घोषणा गरी सौन्दर्य प्रदायक बिरुवा रोपण गरेपछि पार्कको सौन्दर्य अझ बढेको छ ।

गत आ.व. लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय भैरहवाबाट रु दश लाख बजेटमा घेराबार, प्रवेद्धार, पार्कमा पैदलमार्ग र ज्येष्ठ नागरिक विश्रामस्थल प्रतिक्षालय निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा गत बर्ष रु ३ लाख बजेटबाट खुल्ला व्यायमशाला निर्माण गरिएको हो ।

चारैतिर पक्की सडकभित्र पर्ने करिव १३ रोपनी जग्गालाई व्यवस्थापनलाई गरी संरचना तयार पारेर बुद्धपार्कको पहिचान बनेको बुद्धपार्क निर्माण समितिका अध्यक्ष धर्मराज ढकाल बताउँछन् । पार्क क्षेत्रमा अमलाका विरुवा लगाइएको छ भने आउँदो वर्ष आँपका विरुवा लगाउने तयारी रहेको अध्यक्ष ढकालले जानकारी दिए । यसलाई बालउद्यानका रुपमा विकास गर्ने योजना रहेको उनको भनाई छ ।

उनी भन्छन्, “पहिला यो क्षेत्रमा मैले जानेअनुसार आँपका बगैचा, बरपिपलको चौतारी थियो, पछि बोटहरु मर्दै गएपछि झारपातले भरियो, अहिले स्थानीयको जोडबलमा यसलाई व्यवस्थापन गर्नुपर्छ भनेर संरचना निर्माण गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यसले राम्रो प्रशंसा बटुलेको छ” ।

खुला चौर, ठाउँलाई सदुपयोग गरी पर्यटकीय तथा धार्मिक क्षेत्रको विकासमा वडाले जोड दिएको बताउँछन्, रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटा । व्यायाम गर्न, बुद्धमूर्ति दर्शन, पार्कमा घुमफिर गर्दै फोटो तथा भिडियो खिच्ने, टिकटक बनाउन आन्तरिक पर्यटक पुग्ने गर्दछन् । खुला सफा चौरमा विहान साँझ आराम गर्न, साथीभाई भेटघाटका लागि आन्तरिक पर्यटकलाई यो क्षेत्र गन्तव्यस्थल बनेको छ ।

धार्मिक तथा पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका विभिन्न सार्वजनिक स्थलमा आवश्यक पर्ने संरचना निर्माण गर्ने कार्य गरिरहेको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन् । पर्यटकीय तथा धार्मिक संरचना बनाउन थालेपछि सार्वजनिक जग्गाको राम्रो सदुपयोग भएको नगर प्रमुख थापाले बताएका छन् ।

“रामपुर नगरलाई एउटा धार्मिक तथा पर्यटकीय हबका रुपमा विकास गर्दै गएका छौँ” नगर प्रमुख थापाले भने,–“भुगोलले मिलेको यो क्षेत्रमा ठाउँ अनुसार आवश्यक पूर्वाधार निर्माण गरी पर्यटकीय क्षेत्र बनाउन नगर सरकारले जोड दिएर काम गरिरहेको छ, यसका लागि नगरपालिका कार्यालय तथा वडा कार्यालयबाट कामहरु भइरहेका छन्” । रासस

 

 

 

 

 

You might also like

Comments are closed.