जुम्लाबाट १ वर्षमा ४ हजारले लिए नागरिकता

जुम्ला । जुम्लाबाट १ वर्षको अवधिमा ४ हजारभन्दा बढीले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । गत आर्थिक वर्षमा ४ हजार १६२ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

यस्तै चालु आवको असोज मसान्तसम्म १ हजार ८ सयभन्दा बढीले नागरिकता लिइसकेको उनले बताए । कम्युटर अपरेटर पुलामीले भने, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १ हजार ८६३ जनालाई नागरिकताको प्रमाणपत्र दिएका छौँ । १६ जनाले नाबालक प्रमाणपत्र लिएकाछन् ।”

यस्तै यस अवधिमा ३३१ जनाले राहदानी र १ हजार २२९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी कार्यालयमा सो अवधिमा ५१ वटा गुनासो वा ठाडो उजुरी परेका छन् । गत आवमा २२५ वटा गुनासो वा ठाडो उजुरी परेका थिए ।

राहदानी बनाउनेको सङ्ख्या बढ्दो

जिल्लामा राहदानी बनाउनेको सङ्ख्या पछिल्लो समय बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार आव २०७७/०७८ देखि २०८१/०८२ को असोज मसान्तसम्म कूल ३ हजार ७५६ जनाले राहदानी लिएका छन् ।

राहदानी लिनेमध्ये धेरैजसो वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । बाँकी कर्मचारी, उच्चपदस्थ व्यक्तिहरूले वैदेशिक भ्रमणका लागि राहदानी लिने गरेको कार्यालयका राहदानी फाँटका खरिदार नरबहादुर बुढाले बताए ।

प्रशासन शाखाका अनुसार चालू आव २०८१/८२ को असोज मसान्तसम्म मात्रै ६३२ जनाले राहदानी लिइसकेका छन् । तीमध्ये १५७ महिला र ४७५ पुरूष छन् । आव २०८०/८१ मा ७८३ जनाले राहदानी बनाएका थिए । तीमध्ये १४२ जना महिला र ६४१ जना पुरूष रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

You might also like

Comments are closed.