झिनिया व्यवसायीमा सफल रुद्रनारायण र लक्ष्मीको लोभलाग्दो व्यवसाय, दशैतिहारमा ७ लाखको व्यापार

सुशीला रेग्मी

रामपुर (पाल्पा) । रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यावसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरुको व्यस्त बढेको छ ।

तिहार नजिकिदै गरेकाले ग्राहक तथा व्यापारी घरमै आएर खरिद गर्ने गरेको व्यवसायी रुद्रनारायण बताउँछन् । उनी रामपुरमा झिनिया व्यवसाय थालनी गर्ने पहिलो व्यवसायी पनि हुन् । हाल ९ जना कामदार झिनिया उत्पादनमा खटिएका छन् ।

“चाडबाडमा झिनियाको माग धेरै आउने भएकाले कामदार बढाएर उत्पादन गरिरहेका छौँ, ग्राहक तथा व्यापारीलाई झिनिया बिक्रि गर्न तथा उत्पादन गर्न भ्याइनभ्याइ भएको छ, व्यापार राम्रो छ” उनले भने ।

उनले बिगत एक दशक देखि झिनिया व्यवसाय चलाइरहेका छन् । बिशेषगरी दशैतिहार लक्षित गरेर उत्पादन गर्दै आएका छन् । अन्य समयमा पनि उत्पादन निरन्तर नै रहन्छ । दशै तिहारका बेला धेरै व्यापार हुने भएकाले यस समयलाई मध्यनजर गर्दै चाडपर्व अउनु १/२ महिना अघिदेखि उत्पादन गरी भण्डारण गरेर राख्ने गरिएको रुद्रनारायण बताउँछन् ।

रामपुर उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष समेत रहेका रुद्रनारायण  आज भन्दा एक दशक अघि रामपुरमा यो व्यवसाय थालनी गर्ने एक्लो व्यवसायी थिए । पछिल्लो समय उनले थालनी गरेको व्यवसाय सिको गरेर केहीले सानो रुपमा भएपनि व्यावसाय थालनी गरेको देख्दा खुशी लागेको बताउँछन् ।

उनी भन्छन्,“शहर बजारमा जाने क्रममा पसलमा झिनिया रोटीको व्यापार देखेको हो, यो बनाउने तरिका खासै थाहा थिएन, बिक्रि राम्रै हुने रहेछ भन्ने लाग्यो, यसो आफैले जानी नजानिकन हाते मेसिनबाट गर्न थालेको राम्रै हुँदै गएपछि व्यावसायको रुपमा थालनी गरेको हुँ” ।

हाल खुद्रा मुल्य रु एक सय र होलसेल मुल्य रु ९० मा धमाधम घरबाटै बिक्रि भइरहेको छ । यसवर्ष यहाँ उत्पादन भएको झिनिया भैरहवामा समेत खपत भएको रुद्रनारायण बताए । पाल्पा, स्याङजा, तनहुँ र नवलपुर लगायतका विभिन्न बजार तथा ग्रामीण भेगमा राम्रो व्यापार हुने गरेको छ । व्यापारी तथा ग्राहक घरमै आएर खरिद गरेर लैजाने गरेका छन् ।

यहाँको झिनियाँ गुणस्तरिय, लामो समयसम्म राख्दापनि नबिग्रने, खादा स्वाद राम्रो पाएपछि ग्राहकले निकै टाढा–टाढाबाट आएर लैजाने गर्छन् । हाते मेसिनबाट सुरु गरिएको व्यावसाय अहिले भने ठूलै उद्योगको रुपमा स्थापित भएको छ । हाल दैनिक दुईवटा बिद्युत्तिय मेसिनबाट बिहानदेखि साँझ अबेरसम्म झिनिया तयार पार्ने गरिएको व्यवसायी लक्ष्मी श्रेष्ठ बताउँछिन् ।

“दुईवटा मेसिनबाट एक दिनमा एक हजार झिनियाँ उत्पादन हुने गरेको छ” उनले भनिन्,–“यस व्यवसायबाट दशै तिहारमा मात्रै करिव रु ५ लाख देखि ७ लाख बराबरको कारोबार हुने गरेको छ” ।

महिलाका लागि यो व्यावसाय आयआर्जनको बलियो माध्यमको रुपमा रहेको लक्ष्मीको अनुभव छ । यस व्यावसायमा आबद्ध भएपछि आफू परनिर्भर हुनु नपरेको उनले बताइन् । महिलाले विहान साँझको घरको काम सकेर दिउँसोको समय झिनिया उत्पादन गरेर आयआर्जन गर्न सकिने र ठूलो लगानी नगरिकन सानो लगानीमा व्यवसाय गर्न लक्ष्मीको सुझाव छ ।

बिद्युत्तिय मेसिन जडान गरेपछि यहाँ उत्पादन बढाइएको छ । यस मेसिनबाट उत्पादन गर्न धेरै सजिलो छ । छोटो समयमा धेरै उत्पादन हुने भएपछि व्यावसाय क्रमशः बढाउँदै लगिएको छ । दुई दिनको पुरा घाममा सुकाइएको झिनिया खानयोग्य हुन्छ । साथै रुद्रनारायणले कालिका सिन्के चाउचाउ उद्योग समेत चलाउँदै आएका छन् । आफ्नै घरमा उनले वि.स. २०६३ सालदेखि चाउचाउ उद्योग सञ्चालन गरिरहेका छन् ।

तिहारमा दिदिबहिनीले दाजुभाईलाई टिका लगाई दिएपछि प्रसादस्वरुप झिनिया दिने चलन छ । हिजोआज खाजाका रुपमा पनि यसको प्रयोग बढीरहेको छ । तिहार पर्व बाहेक विवाह, ब्रतबन्ध, पुजाआजा, माघे सङ्क्रान्ती, तीज पर्व लगायतका विभिन्न पर्व र शुभ कार्यमा यसको प्रयोग बढ्दो छ ।

पहिला बजारमा झिनिया अहिलेजसो प्रयाप्त मात्रामा पाइदैनथ्यो । घर–घरमा तिहारमा हातले घुमाउने सानो साँचोले घरायसी प्रयोजनका लागि मात्रै झिनिया बनाउने चलन थियो । तर हिजोआज बजारमा जताततै पाइन थालेपछि घरमा पहिलाजसो झिनिया बनाउने कार्य गरिदैन । त्यसकारण पनि बजारका पसल, उद्योगमा झिनिया खरिद गर्न जाने ग्राहकहरु बढ्दै गएका हुन् ।

झिनियाबाट राम्रो आम्दानी हुन थालेपछि हिजोआज महिलाहरुको यो व्यवसायमा आकर्षण बढ्दो छ । घरमा बसेर कम लगानीमा व्यावसाय सञ्चालन गर्न सकिने हुदा ठूलो लगानी कसरी गर्ने भन्ने पिरलो छैन । झट्ट नबिग्रने हुदा जुनसुकै समय उत्पादन भएको झिनिया भण्डारण गरेर बजारमा पठाउन सकिन्छ ।

गाउँमा सवारी साधनको सुबिधा पुगेपछि गाडीमा ढुवानी गरेर झिनिया बजार पठाउन सजिलो छ । बिहान साँझ घरधन्दा सकाएर महिलाले दिउँसोको समय झिनिया उत्पादन गरेर आफ्नो जीविका धानेका छन् । यसले पनि महिला परनिर्भरता हट्दै गएको छ ।

चामलको पिठोलाई पकाएर मेसिनको सहायताले झिनिया बनाई सुकाएर तयार गर्ने गरिन्छ । बिशेषतः पहिले पहिले तिहार पर्वका लागि मात्र बनाइने झिनिया हिजोआज भने अन्य समयमा पनि यसको व्यापार हुने गरेको पाइएको छ । घरायसी खाजाका रुपमा पनि झिनियालाई लिने गरिन्छ ।

 

 

 

 

 

 

You might also like

Comments are closed.