सयपत्री फूल बिक्री गरेर २ लाख आम्दानी

दैलेख । सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् ।

निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । कृषक देवेन्द्र गोदारले ३ रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो ।

उनी भन्छन्, “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।” उनले अघिल्लो वर्ष पनि २ रोपनीमा सयपत्री फूल लगाएका थिए ।

उनी भन्छन्, “गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।”

यस वर्ष कम्तीमा ७ सय केजी फूल उत्पादन हुने र करिब रु २ लाख आम्दानी हुने अनुमान उनले अनुमान गरेका छन् । कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहीले जिल्लामा फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।

सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ । उनले ३ जनालाई रोजगारसमेत दिएका छन् । उनी भन्छन्,“तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ ।”

You might also like

Comments are closed.