ढकमक्क फूलेको सयपत्रीले व्यवसायी उत्साहित

सुशीला रेग्मी
रामपुर (पाल्पा) । ढकमक्क फूल्दै गरेको सयपत्री फूलले व्यवसायी उत्साहीत बनेका छन् । बारीभरी पहेँलै फूलेको फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।

वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरी पहेँलै फूल्दै गरेको सयपत्री फूल देख्दा खुशी छन् । तिहार नजिकिदै गरेकाले पनि बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन गर्न उनीहरुको व्यस्तता बढ्न थालेको छ ।

यस व्यवसायबाट वार्षिक रु २ देखि ३ लाखसम्म आम्दानी गर्दै आएको दिलबहादुर बताउँछन् । करिव ४ रोपनी क्षेत्रफलमा फूल खेती गरिरहेका छन् । तिहार पर्वलाई लक्षित गरी लगाइएको फूलले राम्रो आम्दानी दिएको उनी बताउँछन् । यस पटकको तिहारमा रु २ लाख देखि २ लाख ५० हजारसम्म आम्दानी हुने उनकाmेअनुमान छ ।

“तिहारमा सधैँ फूलको अभाव हुने भएपछि व्यवसायीक रुपमा खेती सुरु गरेको हो, सुरुमा फूल व्यवसाय गर्दा छिमेकी, आफन्तहरु यस व्यवसायले बजार लिन्छ भनेर पत्याएका थिएनन्,” उनले भने,–“चुनौतिका बाबजुद पनि व्यवसाय सुरु गरियो, पहिलो वर्षमा नै नसोँचेको आम्दानी भएपछि व्यवसायलाई निरन्तर रुपमा अगाडी बढाइएको छ” ।

यहाँ उत्पादन भएको फूल प्रतिकिलो रु ५ सय खुद्रा, होलसेल रु ४ सय, प्रतिमाला १५० खुद्रा, होलसेल १२० कायम गरिएको छ । बुटवल, नेपालगञ्ज, तानसेन लगायतका विभिन्न बजारबाट फूलमालाको माग धेरै आएको लालबहादुर थापा बताउँछन् । रामपुरमा फूलमालाको अभाव हुन नदिन स्थानीय ग्राहकलाई नै प्राथमिकतामा राखेर बिक्रि गर्दै आएको लालबहादुरले जानकारी दिए ।

“तिहार सुरु नहुँदै देखि नै फूलमालाको माग धेरै आएको छ, हामीले बाहिर बजारमा पठाउँदैनौ, स्थानीय ग्राहक तथा व्यापारीलाई नै बिक्रि गर्ने गरेका छौँ, स्थानीय ग्राहकलाई पु¥याउन हामीलाई हम्मेहम्मे पर्ने गरेको छ” उनले भने ।

उनीहरुले बिगत ५/६ वर्षदेखि निरन्तर रुपमा व्यवसाय गरिरहेका छन् । यहाँ कर्मा ५५५ जातको सयपत्री फूल लगाइएको छ । यस जातबाट उत्पादन राम्रो हुने भएपछि कर्मा ५५५ लाई रोजाइमा पारेका छन् । दिलबहादुर र लालबहादुरले जग्गा भाडामा लिएर फूलखेती सँगै तरकारी खेती पनि गरिरहेका छन् । तरकारीको तुलनामा फूलबाट छोटो समयमा दोब्बर बढी आम्दानी लिन सकिने, मेहनत र लगानी धेरै नपर्ने व्यवसायीको अनुभव छ ।

रामपुर नगरपालिकाले प्लास्टिकजन्य माला बिक्रि तथा प्रयोगमा रोक लगाएपछि व्यवसायीलाई हौसला मिलेको छ । यसवर्षको तिहारलाई लक्षित गर्दै नगरपालिकाले अग्रिम सूचना जारी गरी प्लाष्टिकजन्य फूलमाला बिक्रि वितरण नगर्न सम्बद्ध व्यवसायीमाझ अनुरोध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्रिमा प्रतिबन्ध लगाएपछि यसवर्ष सयपत्री फूलमालाको माग रामपुर बजारमा बढेको छ ।

रामपुरका दिलबहादुर र लालबहादुरले थालनी गरेको पुष्प व्यवसाय देखेर पछिल्लो समय घर तथा विद्यालय, विभिन्न संघ संस्थामा फूल लगाउन थालिएको छ । यहाँबाट विरुवा खरिद गरेर लगाउने कार्य भइरहेको छ । यतिबेला ढकमक्क फूलेको फूलमा रमाउँदै तस्वीर खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने, अवलोकन गर्न जाने, फूलखेतीबारे जानकारी लिन जानेको चहलपहल छ ।

रामपुर नगरपालिकाले यहाँ थालनी गरिएको व्यवसायमा हौसला प्रदान गर्न सहयोग गर्दै आएको छ । नगरपालिकाको सहयोगमा एक हप्ते पुष्प व्यवसाय तालिम लिएर व्यवसाय थालनी गरिएको व्यवसायीले बताएका छन् । यहाँ तिहारमा मात्र नभई अन्य समय पनि सयपत्री फूल खेती हुने गरेको छ । रामपुर नगरपालिका भित्र हुने विभिन्न संघ संस्थाको सभा समारोह, कार्यक्रम, विवाह, ब्रतबन्ध, शुभकार्य लगायतमा राम्रो खपत हुने गरेको छ ।

lcci
You might also like

Comments are closed.