तरकारी खेतीमा भविष्य खोजेका रामपुरका विवेकको लोभलाग्दो व्यवसाय

सुशीला रेग्मी
रामपुर (पाल्पा) । युवा गाउँ छाडेर विदेशिने क्रम बढेको छ । गाउँमा व्यवसाय गरेर भविष्य बनाउन भन्दा अर्काको देशमा दुख गर्न जाने युवाको आकर्षण उत्तिकै छ । वैदेशिक रोजगारीमा युवा आकर्षित हुदै गरेका बेला पाल्पा रामपुरका विवेक गौतम भने तरकारी खेती गरेर गाउँमै भविष्य बनाउने सपना बोकेका छन् ।

रामपुर नगरपालिका वडा नं ५ राङभाङ बस्ने २४ वर्षीय गौतमको तरकारी खेती लोभलाग्दो छ । सानै उमेरदेखि तरकारी खेतीमा मोह जगाउने गौतम यस व्यवसायमा उत्साहका साथ लागेका छन् । उनले करिव ६ रोपनी जग्गामा तरकारी लगाएर हराभरा बनाएका छन् ।उनको फार्ममा काउली, गोलभेँडा, आलु लगायतका तरकारी छन् । करिव ६ रोपनी जग्गामध्ये ३ रोपनी जग्गा भाडामा लिएर खेती गरिरहेका छन् ।

गौतमले आजभन्दा ५ वर्ष अघि गौतम कृषि फार्म दर्ता गरी व्यवसाय सुरु गरेका हुन् । यस व्यवसायबाट वार्षिक रुपमा रु ६ लाख बराबरको आम्दानी गर्दै आएको उनी बताउँछन् । बेमौसमी खेतीलाई प्राथमिकता दिएर तरकारी खेती गर्दै आएको उनले बताए ।

“रामपुरमा तरकारीको बजार राम्रो छ, बिक्रि भएन भन्ने चिन्ता छैन, किसानले उत्पादन गरिदिए हुन्छ, व्यापारी घरमै खरिद गर्न आउँछन्, समय मिलाएर खेती गरियो भने आम्दानी राम्रो हुने रहेछ” उनले भने । काउली एक महिना पछि बेच्न लायकका हुन्छन् भने गोलभेडा अबको १५ दिनमा बिक्रि गर्न लायकको हुने उनी बताउँछन् ।

वैदेशिक रोजगारीमा पसिना बगाउन भन्दा आफ्नै गाउँको माटोमा पसिना बगाएर भविष्य बनाउने सोँचका साथ तरकारी खेती थालनी गरेको उनले जनाए । युवालाई प्रोत्साहन गर्दै यस व्यवसायका लागि रामपुर नगरपालिकाले व्याज अनुदान कार्यक्रममा समावेश गरी २ वर्ष सम्मका लागि रु ८ लाख रकम व्याज अनुदान उपलब्ध गराएको उनी बताउँछन् ।

तरकारी खेतीमा बेला–बेलामा विभिन्न रोग, किराले आक्रमण गर्ने हुँदा किसानले व्यवसायमा झमेला बेहोर्नुपर्छ । व्यवसायीक खेती गर्ने किसानलाई बिउँविजनमा लाग्ने रोगलाई निराकरण गर्न सक्ने खालका तालिम कृषि कार्यालय वा स्थानीय सरकारबाट उपलब्ध गराएमा खेती गर्न सजिलो हुने उनको माग छ । घरमा बुबा एकराज गौतम र आमा टिकीसरा गौतमले गरेको तरकारी खेतीबाट सिको गरेर उनले आफ्नै नाममा व्यवसाय दर्ता गरी खेती गरेका छन् ।

बिउँविजन गुणस्तर, किसानलाई राम्रो प्रविधि, रोग किरा पहिचान गर्न सक्ने खालको तालिम अति आवश्यक रहेको गौतमले बताएका छन् ।टनेलभित्र र बाहिर तरकारी खेती गरिरहेका छन् । टनेलभित्र लगाएको खेतीमा उत्पादन धेरै हुने गरेको उनको अनुभव छ । तरकारी खेतीबाट सबैको साथ र हौसला पाएकाले व्यवसायमा उत्साह थपिएको छ । तरकारी खेती लगाउन थालेपछि गाउँ छिमेकमा आफूले एउटा व्यवसायीका रुपमा चिनिने अवसर पाएकोमा उनी खुशी छन् ।

रोजगारीका लागि वैदेशिक क्षेत्र नै महत्व दिने प्रचलन युवामा बढेकाले गाउँमा बसेर खेती गर्न युवाले खासै चासो दिदैनन् । रोजगारी गर्न विदेश जानुभन्दा सानो लगानीमा कृषि गरेर आफ्नो जिविका चलाउन सकिने गौतमको अनुभव छ ।

lcci
You might also like

Comments are closed.