बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या

दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहेको छ ।

गाउँपालिकाले गत पुस १७ गते केन्द्र सञ्चालनमा ल्याएको थियो तर बाटोको असुविधाका कारण केन्द्र सञ्चालनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । अन्य समयभन्दा वर्षाका बेला त्यहाँसम्म सवारीसाधन पुग्न नसक्दा निकै समस्या भइरहेको उनले बताए ।

अधिकारीले चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट बाटो स्तरोन्नतिका लागि रु ४० लाख बजेट विनियोजन भएको जानकारी दिए । उनी भन्छन्, “उक्त बजेटमा गाउँपालिकाले पनि केही रकम थपेर बाटो स्तरोन्नति गर्नेछ, बाटो स्तरोन्नति भएपछि फोहरमैला सङ्कलन केन्द्र सञ्चालनमा समस्या आउँदैन ।”

२२ रोपनी ८ आना जग्गा खरिद गरी फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । गाउँपालिकाले विसं २०७८ चैत ९ गते रु ३३ लाखमा जग्गा खरिद गरेको थियो । जग्गा खरिदलगायत केन्द्र निर्माणमा रु २ करोड १५ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ । फोहरमैला व्यवस्थापन केन्द्रका लागि रु २१ करोडको गुरुयोजना तयार भएको छ । सोअनुसार केन्द्रसम्म पुग्ने सडक कालोपत्र गर्न बाँकी छ ।

केन्द्र सञ्चालनमा आएसँगै बजार क्षेत्रका फोहर व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ । स्थानीय तहलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

उनी भन्छन्, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौति हुँदै आएको छ । केन्द्र सञ्चालनपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुगेको छ ।” गाउँपालिकाको बजार क्षेत्रबाट सङ्कलन हुने कुहिने र नकुहिने दुवै प्रकारका फोहर उक्त व्यवस्थापन केन्द्रमा जम्मा गर्ने श्रेष्ठको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार करिब ५ हजार घरधुरीबाट फोहरमैला सङ्कलन गरिनेछ । फोहर सङ्कलनका लागि टिप्परसमेत खरिद भइसकेको छ । गाउँपालिकाको आन्तरिक स्रोतबाट फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । उक्त केन्द्र निर्माणको थालनी विसं २०८० वैशाख ३ गतेबाट भएको थियो ।

शुक्लागण्डकी नगरपालिका–४ स्थित लाहुरे काइला विल्डर्ससँग सम्झौता भई केन्द्र निर्माण भएको थियो । गाउँपालिकाले हालै आयोजित गाउँसभाबाट वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन २०८० समेत पारित गरिसकेको छ ।

You might also like

Comments are closed.