एक दशक देखि व्यवसायीक तरकारी खेतीमा, वार्षिक रु ७ लाखको कमाई

सुशीला रेग्मी
रामपुर (पाल्पा) । आजभन्दा एक दशक अघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा पाल्पा रामपुर नगरपालिका ६ स्थित प्याक्लुक बस्ने गंगा बस्याल दोधारमा थिए । सदरमुकाम तानसेन देखि टाढा रहेको रामपुर बजार ग्रामीण शहर नै थियो, तरकारीले बजार पाउँछ कि पाउँदैन भन्नेमा एक्किन नहुँदा उहाँलाई व्यवसायमा अन्यौलता नै छायो ।

भविष्यमा बजार बिस्तार हुने आशाले उनले व्यवसायका रुपमा तरकारी खेती रोजे । सुरुमा बजार पाउँला नपाउँला भन्नेमा दुबिधामा परेका बस्यालले क्रमिक रुपमा सफलता हात पर्न थालेपछि व्यवसाय बढाएका छन् । अहिले तरकारी खेतीले राम्रो बजार पाएपछि यसबाटै जीविका धान्दै आएका छन् । वार्षिक रुपमा तरकारी बिक्रि गरेर करिव रु ७ लाख बराबरको आम्दानी गरेका छन् ।

उनी स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छन् । यहाँ आलु, काउली, बन्दा, गोलभेँडा लगायतका जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेका छन् । उनले हाल करिव १२ रोपनी क्षेत्रफलमा तरकारी लगाएका छन् । जसमध्ये १० रोपनी जग्गा १० वर्षका लागि वार्षिक रु ५० हजार बुझाउने गरी भाडामा लिएर खेती गरिरहेका छन् ।

स्थानीय बजारमा तरकारीको खपत राम्रो हुन थालेपछि जग्गा भाडामा लिएर व्यवसाय बिस्तार गरेका हुन् । तरकारी खेतीबाट परिवारको गुजारा मात्र नभई छोराछोरीको पढाई खर्च समेत धान्दै आएको बस्याल बताउँछन् । ठूला शहर बजार पुग्ने सडक जोडिएपनि पक्की र व्यवस्थित नहुँदा सडक समस्या, रामपुर गाउँ क्षेत्र भएकाले बजार सानो हुँदा तरकारी लगाएर जीविकोपार्जन होला या नहोला भन्ने सुरुमा अन्यौलता भएपनि अहिले यस व्यवसायबाट राम्रो सफलता पाएको उनले बताए ।

“भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोँचका साथ तरकारी खेती सुरु गरे, तरकारीबाट नसोँचेको आम्दानी हात परेको छ” उनले भने,–“हाम्रो परिवारको जिविका राम्रैसंग चलेको छ, यस व्यवसायबाट म एकदमै सन्तुष्ट छु” ।

उनले बजार सानो हुँदा सुरुमा रामपुरमा तरकारी बिक्रि गर्न समस्या झेल्नुप¥यो । स्याङजाको वालिङ, गल्याङ लगायतका विभिन्न बजारमा लगेर तरकारी बिक्रि गर्न थाले । अहिले भने उनको तरकारीले रामपुरमा बजार पाएन भन्ने समस्या छैन । धमाधम तरकारी स्थानीय बजारमा नै बिक्रि हुन थालेपछि व्यवसाय बढाउँदै गएका छन् । वि.स. २०७२ देखि निरन्तर रुपमा तरकारी खेती गरिरहेका छन् । यस व्यवसायबाट दुई छोराछोरीलाई काठमाडौंमा कोठा भाडामा राखेर पढाएका छन् ।

उनको यो व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छन् । श्रीमान् श्रीमती नै तरकारी खेतीमा आबद्ध छन् । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थालेका छन् । बारीभरी हरियाली तरकारीले ढाकिएका छन् । हाल उनको खेतबारीमा काउली, बन्दा, आलु, सागमुला, धनिया लगायतका जातका तरकारी हुर्कदैछन् । गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काक्रा खेतीबाट रु एक लाख बराबरको आम्दानी भएपछि व्यवसायमा हौसला थपिदिएको राधिका बस्याल बताउँछिन् । तरकारी खेतीबाट हातमा दाम मात्र नभई समाजमा पहिचान समेत दिएको राधिकाले बताइन् ।

उनी भन्छिन्, “खेतबारीभरी हरियाली तरकारी छन्, दिनमा एक दुई घण्टा खटेर काम गरियो भने हातभरी पैसा आइरहन्छ, समय अनुसार तरकारीले अहिलेसम्म राम्रो बजार भाउ पाएको छ, ताजा तरकारी घरमै खरिद गर्न आउँछन्, तरकारी उत्पादन गर्नुअघि नै व्यापारी तथा ग्राहकबाट धेरै माग आउने गरेको छ” ।

स्थानीय व्यापारीसंग समन्वय गरेर बजारमा तरकारी बिक्रि गर्ने गर्छन् । हरेक वर्ष तरकारी उत्पादन मात्र नभई विरुवा उत्पादन गरेर बिक्रि समेत गर्ने गरिरहेका छन् । करिव एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका विरुवा उत्पादन गर्न थालेपछि ग्राहकहरु टाढा–टाढाबाट खरिद गर्न आउने गर्छन् । अहिले उनको घरमा प्याज, काउली, बन्दा, गोलभेँडा जातका विरुवा खरिद गर्न आउनेको लर्को पनि उत्तिकै छ ।

निर्वाहमुखी खेती गर्ने किसान पछिल्लो समय यहाँको बजार बढ्दै जान थालेपछि व्यवसायीक तरिकाबाट खेती गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् । व्यवसायीक खेतीमा जोड दिने कृषकलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, वीउँ विजन, उपकरण तथा प्राविधिक सेवा दिदै आएको शाखा प्रमुख गैरेले बताए ।

You might also like

Comments are closed.