रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले हरिबोधिनी एकादशी अर्थात् ठूली एकादशीको अवसरमा सार्वजनिक विदा दिएको छ । कात्तिक २७ गते मंगलवारका दिन हरिबोधिनी एकादशीको दिन नगरपालिकाभित्र सार्वजनिक विदा दिएको सोमवार नगरपालिकाका प्रमुख प्रशासकिय सूर्यदर्शन पण्डितले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको, ‘रामपुर नगरपालिका भएर बग्ने नदी कालीगण्डकी क्षेत्रमा भव्य रुपमा मनाइने पवित्र चाड हरिबोधिनी एकादशीको दिन रामपुर नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरु तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने भनि सोमवार बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय भएको छ’ ।
हरिबोधिनी एकादशी यस क्षेत्रमा उल्लासयमका रुपमा मनाइने भएकाले एक दिन नगरपालिकाले सार्वजनिक विदा दिदै आएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । हरिबोधिनी एकादशीका दिन कालीगण्डकी नदी स्नान गरेर पुण्य प्राप्ती हुने जनविश्वासका साथ टाढा–टाढाबाट पनि श्रद्धालुभक्तजनहरु विभिन्न घाटमा स्नान गर्न आउने गर्दछन् ।
कालीगण्डकीका विभिन्न घाटमा हरिबोधिनी एकादशीको अवसरमा तोरण तार्ने, नाचगान, फलफूल, स्थानीय रुपमा उत्पादित वस्तुको किनबेचको निकै घुईँचो रहन्छ । एकदशीको अवसरमा विभिन्न संघ संस्था, क्लब, स्थानीय समूहको आयोजनामा विविध साँस्कृतिक कार्यक्रम समेत हुने गरेको छ ।
एकादशीमा पाल्पाको राम्दीघाट, रिडीघाट, रानीघाट, केलादीघाट, ज्याग्दी, पुट्टार, तातोपानी, हुँगी लगायतका विभिन्न घाटमा ठूलो मेला लाग्ने गर्दछ । यस दिन मेला अवलोकन, नदी स्नान मात्र नभई स्थानीय रुपमा उत्पादित विभिन्न सामग्रीको राम्रो व्यापार हुने भएकाले खरिद बिक्रिका लागि आउने गरेको पाइन्छ । बिशेषगरी मेलामा सुन्तला, केरा, तरुल, सखरखण्ड, बासँजन्य सामग्रीको व्यापार हुने गरेको छ ।
Comments are closed.