रामपुर (पाल्पा) । पाल्पा रामपुर नगरपालिका–४, बाङ्गेपसल बस्ने स्वर्गीय झमन थापाको स्मृतिमा चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिएको छ । थापाको स्मृतिमा रामपुरका रामतुलसी नमुना मावि, सीताराम मावि, कालिका मावि र शहीद बहुमुखी क्याम्पसमा रु ५ लाख ५५ हजार ५५५ बराबरको स्व. झमन थापा स्मृति अक्षयकोष स्थापना भएको छ ।
रामतुलसी नमुना माविमा रु २ लाख २२ हजार २२२, शहीद बहुमुखी क्याम्पसमा रु १ लाख ११ हजार १११, सीताराम माविमा रु १ लाख ११ हजार १११ र कालिका माविमा रु १ लाख ११ हजार १११ बराबरको अक्षयकोष स्थापना गरिएको छ । ७ वर्ष अघि विद्यार्थी भिषामा जापान गएका स्वर्गीय थापाको गत असोज २४ गते २६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।
स्व. थापा बुबा नरबहादुर ढेंगा थापा र आमा यमकुमारी ढेंगा थापाको एकमात्र छोरा हुन् । छोराले अध्ययन गरेको शैक्षिक संस्था तथा अन्य विद्यालयमा परिवारले स्व. झमन थापा स्मृति अक्षयकोष स्थापना गरिदिएको हो । झमन थापाको अकल्पनिय निधन भएपछि शव नेपाल ल्याउन समस्या भएको थियो ।
विभिन्न व्यक्ति, संघसंस्थाको सहयोगमा रकम सङ्कलन गरेर शव नेपाल ल्याइएको हो । रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयले शव नेपाल ल्याउन सूचना जारी गरी रकम सङ्कलन अभियान चलाएको थियो । सो अभियानमा सङ्कलित रकममध्ये शव नेपाल ल्याएर वचत भएको बाँकी रकम विभिन्न शैक्षिक संस्थामा अक्षयकोष स्थापना गरिदिएको पारिवारिक स्रोतले जनाएको छ ।
एनआरएनए तोचिगीका सहसचिव मधुसुदन वंशीले परिवारको चाहाना अनुसार शव नेपाल पठाउनका लागि जापानमा सञ्चालन गरिएको अभियानमा त्याहाँ रहनु भएका नेपालीको सक्रियतामा ३३ लाख ४९ हजार ५ सय रुपैयाँ सङ्कलन भएको जानकारी दिए ।
जापानस्थित नेपाली नागरिक, रामपुर नगरपालिका, विभिन्न टोल विकास संस्था, संघ संस्था तथा समुह र व्यक्तिबाट गरी जम्मा रु ३६ लाख ७६ हजार ५८६ बराबरको रकम सङ्कलन भएको रामपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष रामबहादुर रानाले बताए । उनका अनुसार सङ्कलन भएको रकममध्ये शव नेपाल ल्याउन रु ११ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य बिरबहादुर राना, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, जनप्रतिनिधि, अक्षयकोष स्थापना भएका चारवटै शैक्षिक संस्थाका प्रमुख तथा अध्यक्ष, टोल विकास संस्था, सामाजिक संघ संस्था, सहयोगीदाता लगायतको उपस्थितीमा अक्षयकोष रकम सम्बन्धित शैक्षिक संस्थालाई हस्तान्तरण गरिएको छ ।
Comments are closed.