राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम मनाइदै

पोखरा । आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवसका अवसरमा सप्ताहव्यापी कर दिवस मनाउने भएको छ ।

“कर प्रणालीको सार, लगानीको आधार” भन्ने नाराका साथ राष्ट्रिय कर दिवस मङ्सिर १ गतेदेखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । दिवसको अवसरमा १ गते विहान ७ः३० बजे पोखरा सभागृह देखि सृजनाचोक हुँदै रत्नचोक आन्तरिक राजश्व कार्यालयसम्म प्रभातफेरि गरी राष्ट्रिय कर दिवस २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम हुनेछ ।

यसैगरी २ गते कार्यालयबाट सेवा लिने प्रथम करदातालाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने २ गतेदेखि ६ गतेसम्म वस्तुगत संघ संगठनसँग अन्र्तक्रिया, कर सम्बन्धी प्रशिक्षण कार्यक्रम र सञ्चार माध्यममा अन्तरसम्वाद कार्यक्रम हुनेछन् ।

यस्तै ७ गते आन्तरिक राजस्व कार्यालय पोखरा परिसरमा उत्कृष्ट करदातालाई सम्मान गर्ने तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी राष्ट्रिय कर दिवस समापन कार्यक्रम रहेको छ । आर्थिक ऐन, २०८१ ले गरेका व्यवस्था र छुट सुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम आयोजना गरिने छ ।

आर्थिक ऐन, २०८१ ले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आ.व.२०७९/०८० सम्मको विवरण बुझाएमा र २०८० असार महिना सम्मको बुझाउन बाँकी मूल्यअभिबृद्धि कर विवरण तथा सो बापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्त सम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।

कार्यालयबाट कर दिवस तथा कर सप्ताह कार्यक्रमको अवसरमा करदाता शिक्षा कार्यक्रम, कर सम्बन्धी जनचेतनामूलक कार्यक्रम, आर्थिक ऐनमा भएका कर छुट तथा संशोधित कर कानूनको बारेमा करदातालाई सुसूचित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

 

 

You might also like

Comments are closed.