वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व सङ्कलन २० करोडले घट्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा रु १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ४ महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरेका छन् ।

चालु आवको साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको ४ महिनामा रु १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु २० करोड ४ लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

You might also like

Comments are closed.