देशभरका मालपोत कार्यालयले उठाए २ अर्ब ७० करोड राजस्व

काठमाडौं । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु २ अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।

असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु ३ अर्ब ८ करोड १२ लाख ४१ हजार ४८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।

विभागका अनुसार, काठमाडौं उपत्यकाभित्रका ९ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार ८५८ बराबर राजस्व सङ्कलन गरेको छ । मालपोत कार्यालय गोटीखेल ललितपुरले रु ४ लाख ६७ हजार ७२०, भक्तपुरले रु १७ करोड ६९ लाख २३ हजार ६४५, डिल्लीबजारले रु १५ करोड ७७ लाख २० हजार ५४५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिलले रु २१ करोड ४२ लाख ४६ हजार ९९२, कलङ्की मालपोत कार्यालयले रु १७ करोड ८ लाख ४४ हजार ७५१, साँखु कार्यालयले रु ४ करोड ७९ लाख ५४ हजार ९४२, मनमैजु कार्यालयले रु ५ करोड ५० लाख ९३ हजार ६३२, टोखा कार्यालयले रु ३ करोड ५७ लाख २७ हजार ६६५ बराबरको राजस्व सङ्कलन गरेको छ ।

मुलुकभर १३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार ४६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु १ अर्ब ८२ करोड ९५ लाख ३० हजार १३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार ८२० सङ्कलन गरेको छ ।

विभागका अनुसार गत साउनमा रु ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार ८८५, भदौमा रु ३ अर्ब ९ करोड २ लाख ५९ हजार १५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।

You might also like

Comments are closed.