राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने अवस्था : पूर्वगनर्भर डा. नेपाल

पोखरा । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालले राज्यका नीति स्थिर नहुँदासम्म निजी क्षेत्रको उत्साहित नहुने र देशमा वैदेशिक लगानी पनि नभित्रने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघले आइतबार मुलुकको वर्तमान आर्थिक अवस्थाबारे आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘नीतिपछि बल्ल सरकार आउँछ,अहिले देशमा उत्तरी र दक्षिणी ध्रुव मिलेका छन् । साँच्चै देश बनाउन यो सरकार बनेको हो भने किन उत्पादनशील क्षेत्रमा लगानी बढेन भनेर सोच्नुपर्छ ।’

दुई ठूृला दल मिलेर सरकार बनेको झण्डै चार महिनामा पनि अर्थतन्त्र चलायनमान नहुनु चिन्ताको विषय भएको उनको भनाइ छ । अहिले वैदेशिक मुद्राको संचिति अवस्था ५१ सय ५२ अर्ब रहेको र बैंकमा पनि उत्तिकै पैसा थुप्रिएकाले विदेशी मुद्रा संचिति बढ्नु भनेको वैदेशिक लगानी आकर्षित हुने अवस्था भएपनि अहिले त्यो नभएको उनले बताएका छन् ।

उनले आर्थिक गतिविधि सुस्ताउनुमा राजनीतिक नेतृत्वभन्दा पनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति दोषी रहेको जिकिर पनि गरे । अर्थतन्त्रको अवस्थाबारे ख्याल नराख्ने र ठूला–ठूला योजना अगाडि सार्ने राजनीतिक नेतृत्वलाई अर्थतन्त्रको अवस्थाबारे जानकारी गराउनु नियमनकारी निकाय राष्ट्र बैंकको कर्तव्य भएको पनि उनले बताए ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बैंकमा तरलता थुप्रिँदा पनि निजी क्षेत्र ऋण लिन उत्साहित नहुनु, निर्माण व्यवसायीले समयमा कामको भुक्तानी नपाउनु तथा चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासम्म पनि घोषणा अनुरुप भौतिक पूर्वाधारका कामको ठेक्का नलाग्नुलाई निजी क्षेत्रले निको नमानेको बताए । संघका पूर्वअध्यक्ष वसन्त उदासले युवा पलायन दर बढ्दा बजार सुस्ताएको जिकिर गर्दै पढ्नकै लागि विदेश जाँदा पनि कम्तिमा मापदण्ड कायम गराउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बुद्धाचार्य, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्य देवेन्सन प्रजु र राम कँडेल, पत्रकार विजय नेपाल, व्यवसायीहरु मिलन तिवारी, अध्ययेता सरोज कोइराला, सहजकर्ता सुरेन्द्रबाबु तिवारी, फर्निसिङ तथा फर्निचर व्यवसायी संघ कास्की अध्यक्ष थोमनाथ अर्याललगायतले आफ्ना भनाइ राखेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवदा दिएको कार्यक्रमको सञ्चालन संघकी महासचिव शोभा गौतमले गरेकी हुन् ।

You might also like

Comments are closed.