चिया निर्यात ६९ प्रतिशतले बढ्यो

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार ४ महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव १६४ मेट्रिकटन चिया निर्यात भएको हो ।

चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतले बढेको मेची भन्सारका कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । चालु आवको पहिलो ४ महिनामा रु २ अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको छ । गत आवको सोही अवधिमा रु १ अर्ब ३१ करोड ३४ लाख ३६ हजार बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो चौमासिकमा अलैँची, अम्रिसो, छुर्पी, अदुवा, काउली, बन्दागोपी र ब्रोकाउलीको निर्यात घटेको छ । गत आवको सोही अवधीको तुलनामा अलैँची ११ दशमलव ८७ प्रतिशत, अम्रिसो ११ दशमलव ६६ प्रतिशत, छुर्पी ४१ दशमलव ४५ प्रतिशत, काउली, बन्दागोपी र ब्रोकाउली २७ दशमलव ९८ प्रतिशतले निर्यात घटेको सूचना अधिकारी कँडेलले जानकारी दिए ।

उनका अनुसार अनुसार भेनियर सिटको निर्यात २४१ दशमलव ९४ र प्लाइउडको निर्यात २९ दशमलव ६३ प्रतिशले बढेको छ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकसम्म रु ४ अर्ब ७२ करोड ७ लाख २३ हजार राजस्व सङ्कलन भएको जनाएको छ । उक्त राजस्व रकम कार्यालयको वार्षिक लक्ष्यको २७ दशमलव २२ प्रतिशत हो ।

lcci
You might also like

Comments are closed.