काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो ३ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो ।
“२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७ दशमलव ५० प्रतिशत रहेको थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ७ दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ४९ प्रतिशत रहेको छ ।”
खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५ दशमलव १५ प्रतिशतले वृद्धि भएको छ । जुन सबैभन्दा उच्च मूल्यवृद्धि हो । त्यस्तै, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव ५७ प्रतिशत र घ्यू तथा तेलको ४ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा केही वस्तुको मूल्य भने घटेको छ । माछा तथा मासु उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १ दशमलव १८ प्रतिशत, मरमसलाको ० दशमलव ७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ० दशमलव ७८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १० दशमलव ४९, मदिराजन्य पेय पदार्थको ६ दशमलव ३२, कपडाजन्य तथा जुत्ता चप्पलको ६ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ ।
गत असोजमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५ प्रतिशतले वृद्धि भएको छ भने सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव २६, मधेश प्रदेशको ५ दशमलव ०८, बागमती प्रदेशको ४ दशमलव २४ र गण्डकी प्रदेशको ३ दशमलव ९८ प्रतिशत रहेको छ । त्यस्तै, लुम्बिनी प्रदेशको ४ दशमलव ४२, कर्णालीको ३ दशमलव २५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६ दशमलव ५६ प्रतिशत रहेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ५०, तराईको ५ दशमलव २३, पहाडको ४ दशमलव ३२ प्रतिशत र हिमालको ५ दशमलव ०८ प्रतिशत रहेको छ ।
Comments are closed.