तरकारी खेतीमा झुसिल कीराको प्रकोप

सुशीला रेग्मी
रामपुर (पाल्पा) । खेतबारीमा लगाइएका तरकारी बालीमा झुसिल कीराको प्रकोप देखिएको छ । रामपुरका खेतबारीमा हुर्कदै गरेको काउली, बन्दा, साग, मुला जस्ता बालीमा झुसिल कीराको प्रकोप बढी देखिएको किसानले बताएका छन् ।

बोटमा बसेर कीराले पात खाने, काट्ने गरेर बालीलाई नोक्सान पार्ने गरेको रामपुर नगरपालिका ६ प्याक्लुक बस्ने अगुवा किसान राधिका बस्यालले बताइन् । उनले बारीमा लगाएको काउली खेतीमा झुसिल कीराको प्रकोपले सताएको बताएकी छन् ।

“काउलीका बोट असाध्यै राम्रा छन्, बारीमा सप्रदै गरेका, अब फल लाग्ने तयारीमा रहेका बोटमा झुसिल कीरा लागेर समस्यामा छौँ, बारीमा बसेर कीरा मार्ने गरिएपनि निर्मुल हुन सकेको छैन” उनले भनिन् ।

रामपुर ५ स्थित राङभाङमा टिकीसरा गौतमको काउली बालीमा झुसिल कीराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनका लागि लगाइएको हुँदा कीरा लागेपछि किसानलाई उत्पादनमा समस्या आउने हो कि भन्ने समस्या निम्तिएको उनी बताउँछिन् ।

उनी भन्छिन्, “बोट असाध्यै राम्रो छ, कीरा आक्रमण गर्दा उत्पादन घट्छ कि भन्ने चिन्ता थपिने, बोटमा लागेका कीरा फुर्सदको समय मिलाएर हटाउने गरेका छौँ, कीरालाई झट्ट नियन्त्रणमा ल्याउन समय लाग्ने रहेछ” ।

झुसिल कीराको प्रकोप फैलिएपछि रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरिक्षण पश्चात् किसानलाई निःशूल्क रुपमा विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । बेमौसमी समयमा लगाइएका तरकारी बालीमा झुसिल कीराले अति मन पराउने गर्छ र यसले पात खाने, काट्ने समस्याले बालीलाई नोक्सान बनाउने उनी बताउँछन् ।

उनकाअनुसार इनामेक्टिन इन्जाइम बेन्जोइड नामक विषादी छर्न किसानलाई सुझाव दिइएको छ । रामपुरमा लगाइएका सबैजसो तरकारी खेतीमा झुसिल कीराको प्रकोप देखिएको शाखा प्रमुख गैरेले बताए । यस क्षेत्रमा बिशेषगरी काउली, बन्दा, साग, मुला लगायतका बालीमा कीराले सताएको छ ।

 

lcci
You might also like

Comments are closed.