सूचना प्रविधि सम्बन्धी सीप विकास गर्न जेनेस सलुशन तथा कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य

काठमाडौं । सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को संयुक्त प्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’ स्थापना गरिएको छ । स्थानीय युवालाई उच्चस्तरीय प्राविधिक तालिम, अनुभवजन्य सिकाइ र पेशागत विकासद्वारा सशक्त बनाउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको जेनेस सलुशनले जनाएको छ ।

गत शनिबार काठमाडौंको मूलपानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले युवामा रोजगारमूलक सीप सिकाउन गरिएको यो प्रयास राम्रो रहेको बताए । ठूलो संख्यामा युवाहरु विदेश गै रहेका बेला उनीहरुलाई सीप सिकेर स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने अभियान थालेकोमा जेनेस सलुशनलाई नगर प्रमुख कार्कीले धन्यवाद दिदै जीटेकसंग नगरपालिकाले सहकार्य गर्ने र सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ का वडाध्यक्ष प्रकाश फुयालले अहिलेका युवाले विभिन्न डिग्री हासिल गरेपनि रोजगारी पाउन नसकेको बताउंदै उनीहरुको सीपलाई रोजगारीसंग जोड्न आवश्यक भएको बताएका छन् । जीटेकले आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स जस्ता आधारभूत तथा आधुनिक प्रविधिहरू समेटेको पाठ्यक्रम प्रदान गर्ने र यसबाट सहभागीलाई रोजगार वृद्धि गर्नका लागि आवश्यक सीप प्राप्त हुने फुयालले जनाए ।

सोही अवसरमा महिलालाई प्रविधिमा प्रोत्साहन गर्नुका साथै प्रविधिमा सफल हुन वातावरण बनाउन ‘गर्ल्स इन टेक’ समूह पनि स्थापना गरिएको छ । स्थानीय स्टार्टअपलाई सहयोग पु¥याउन केन्द्रले एक नवप्रवर्तनात्मक इनक्यूबेटर स्थापना गर्नेछ जहाँ इच्छुक उद्यमीलाई मार्गदर्शन, स्रोतसाधन र नेटवर्किङ प्रदान गरिनेछ । त्यस्तै नियमित समुदाय कार्यक्रममा प्राविधिक छलफल र कार्यशालाहरू आयोजना गरी प्रविधिमा चासो बढाउने र सहभागीको ज्ञानको विस्तार गरिने पनि जनाइएको छ ।

केन्द्रले प्रविधि सीप बूटक्याम्प मार्फत आधिकारिक प्रमाणपत्र समेत प्रदान गर्ने गरी वेब विकास, डेटा साइन्स, एआई र साइबर सुरक्षा जस्ता छोटो अवधिका कोर्सहरू सञ्चालन गर्नेछ । अहिलेसम्म केन्द्रमा कागेश्वरी मनोहरा नगरपालिकाका झन्डै ७० जना युवाहरु आबद्ध भइसकेको जेनेस सलुशनले जनाएको छ ।

lcci
You might also like

Comments are closed.