कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

अत्तरिया (कैलाली) । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो ।

धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएका छन् । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएका हुन् । ४ वर्षअघि ६० हजार लगानीमा एउटा टनेलबाट च्याउखेती थालेका उनले हाल ५ वटा टनेलबाट च्याउ उत्पादन गर्दै आएको बताए ।

पाँच वटा टनेलबाट उत्पादन भएको च्याउ विक्रीबाट सबै खर्च कटाएर ६ महिनामा ६ लाख बचत हुने उनले बताए । उनी भन्छन्, “हिउँदका ६ महिना मात्रै च्याउ उत्पादन गर्छु । ‘किङ्ग ओइस्टर’ च्याउ उत्पादन गर्दै आएको छु । यो च्याउ प्रतिकिलो दुई सयदेखि दुई सय पचासमा बिक्री हुने गरेको छ ।”

“बजारको मागअनुसार आपूर्ति गर्न सकेको छैन”, उनले भने, “प्रतिदिन ७० देखि ८० केजी च्याउ बिक्री गर्दै आएको छु ।” च्याउखेतीमा लगानी कम र आम्दानी बढी हुने र यसमा लगानी कम भए पनि मेहनत बढी चाहिने उनको अनुभव छ । उनको यस व्यवसायबाट ४ जनाको परिवार धानिएको छ । घर खर्च राम्रोसँग चलेको छ । पराल काट्ने मेसिन, मिनिटिर च्याउ बेचेर खरिद गरेका छन् । च्याउखेती विस्तार गर्दै जाने आफ्नो योजना उनको छ ।

यसैगरी, गोदावरी नगरपालिका–८ फकलपुरकी राजकुमारी चौधरीले पनि सात व्यावसायिक रूपमा च्याउखेती गरेकी छन् । च्याउ बिक्रीबाट खर्च कटाएर वार्षिक २ लाख बचत हुने गरेको उनले बताइन् । उनी भन्छिन्, “च्याउखेतीबाट छोटो समयमा प्रशस्त आम्दानी गर्न सकिन्छ ।”

च्याउ बिक्रीमा कुनै समस्या नभएको बरु माग धान्न कठिन भएको उनको अनुभव छ । च्याउसँगै डेढ कठ्ठा जग्गामा सागसब्जी पनि लगाएकी उनले त्यसबाट वार्षिक रु १ लाख बचत गर्दै आएकी छन् ।

lcci
You might also like

Comments are closed.