रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली (रामेछाप) । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त हावापानी तथा किसानले नियमिति प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिनको प्रयोग गर्न पाएपछि जिल्लामा जुनार उत्पादन बढेको हो ।

रामेछाप नगरपालिका–६ ओख्रेनीका हिमाल तामाङले १५ रोपनीमा व्यावसायिक रुपमा जुनारखेती गरेका छन् । गत वर्षको तुलानमा ५० प्रतिशत बढी उत्पादन भएको उनी बताउँछन् । अघिल्लो वर्ष रु २ लाख ५० हजारको जुनार बिक्री भएको तामाङले बताए । यस वर्ष रु ३ लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना उनको छ ।

रामेछाप–६ का टेकबहादुर तामाङले पनि सात रोपनी जग्गामा जुनारखेती गरेका छन् । गत वर्षको तुलनामा ४० प्रतिशत उत्पादन बढेको उनले जनाए । “गत वर्ष मैले जुनार बिक्री गरेर रु ७० हजारमात्र लिन सकेको थिएँ, यस वर्ष रु एक लाखसम्मको बिक्री हुने अनुमान छ”, उनले भने ।

सुकाजोरका किसान रामकुमार कार्की, ओखे्रनीकै युगराज पाख्रिन, शेरबहादुर तामाङलगायत किसानले जुनार उत्पादन गरेपछि उनीहरूको आम्दानी पनि बढेको छ । रामेछाप नगरापलिकाको हिमगङ्गा, सुकाजोर, ओख्रेनी र मन्थली नगरपालिकाको वडा नं १३ र १४ फुलासीमा जुनार उत्पादन गत वर्षको तुलनामा बढेको किसानले बताएका छन् । जुनार जोन सञ्चालन समन्वय समितिका अध्यक्ष गुञ्जबहादुर कार्कीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले मन्थली र रामेछाप नगरपालिकामा जुनार जोनका रूपमा काम गरिरहेको छ ।

परियोजनाले विभिन्न अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यान्त्रिकीकरणजस्ता सामग्रीसमेत किसानलाई वितरण गरेको छ । परियोजना कार्यालयकी प्राविधिक भवानी बस्नेतले मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष ५२० हेक्टरमा सुन्तला जातका फलफूल उत्पादन भइरहेकामध्ये जुनार ४२२ दशमलव ५, सुन्तला ७८ र कागती २० दशमलव ८ हेक्टरमा जुनार खेती गरिएको थियो । यहाँ ४ हजार ३८० मेट्रिक टन जुनार फलफूल उत्पादन भई रु १९ करोड ९३ लाख ९५ हजार बराबरको बिक्री भएको प्राविधिक बस्नेतले बताइन् ।

यस वर्ष ४३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला तथा २२ हेक्टरमा कागतीखेती गरिएकामा ४ हजार ४०१ मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ६८ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ । जुनार उत्पादन बढेपछि यहाँका किसान हर्षित छन् । उनीहरूले बगैँचाबाट नै जुनारको दानाको साइजअनुसार प्रतिकिलो रु ६० देखि रु ७५ सम्ममा बिक्री गर्ने गरेका छन् ।

lcci
You might also like

Comments are closed.