सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ । चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो ।
पछिल्लो एक सातामा जहाजमार्फत ७११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा २४ सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ । कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते २२३ जना भित्रिँदा ३६२, मङ्सिर ५ गते ११९ भित्रिँदा ३२० र ६ गते ८० भित्रिँदा ३७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् ।
यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा ३०३, मङ्सिर ८ गते ५३ पर्यटक भित्रिँदा ४८१ जना, ९ गते १३६ भित्रिँदा ३०३ जना र १० गते १३२ पर्यटक भित्रिँदा २५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ । चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उनको भनाइ छ ।
दर्नालले भने, “पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् ।” नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उनको अनुमान छ । रासस
Comments are closed.