बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न थालनी गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ । उनी भन्छन्, “मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौँ ।”

अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो” उनले भने । पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताउँछन् । नेपालमा बर्सेनि १५ सय हाराहारी नयाँ बाल क्यान्सरका बिरामी हुन्छन् भन्ने अनुमान रहेको उनको भनाइ छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए ।

उनी भन्छन्, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।” बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने उनले विश्वास व्यक्त गरेका छन् ।

lcci
You might also like

Comments are closed.