हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगर

चितवन । हरियाली प्रवद्र्धनका लागि भरतपुर महानगरपालिकाले आफै बिरुवा उत्पादन गर्न नर्सरी बनाउने भएको छ । महानगरपालिकाले वडा नं २४ को गुम्बा नजिक सात बिगाहा सार्वजनिक जग्गामध्ये एक बिगाहामा नर्सरी बनाउन लागेको हो ।

डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा काम अघि बढाउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार नीति तथा कार्यक्रममा समावेश गरी नर्सरी व्यवस्थापनका लागि यस वर्ष रु एक करोड बजेटसमेत विनियोजन गरिएको छ । नर्सरीका लागि कम्पाउण्ड, नर्सरी घरलगायत भौतिक संरचना निर्माण सुरु गर्न लागिएको छ ।

दाहालका अनुसार एक वर्षमा एक लाख बिरुवा उत्पादन गर्ने लक्ष्य महानगरको छ । बाहिरबाट बिरुवा खरिद गर्दा महङ्गो पर्ने भएकाले आफैले उत्पादन गरेर सडक किनारामा बिरुवा रोप्न लागिएको हो । सुन्दरता दिने र फलफूलका बिरुवा उत्पादन गरेर रोप्ने योजना महानगरको रहेको छ ।

उपप्रमुख चित्रसेन अधिकारीले गत वर्षबाट महानगरपालिकाले महानगरभित्रका सडकमा वृक्षरोपण गरेर हरियाली बनाउन थालेको बताए । आफ्नै नर्सरी बनेसँगै अहिले प्रतिगोटा रु एक हजारसम्म पर्ने बिरुवा रु ३०–४० मा तयार हुने उनको भनाइ छ । अधिकारीले भने, “आर्थिक रुपमा पनि महानगरलाई फाइदा पुग्छ ।”

महानगरपालिकाका इञ्जिनियर साकार लामाले यही महिनाबाट काम थालिने बताउनुभयो । सिजनल र बहुवर्षे बिरुवाहरु उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । उनी भन्छन्, “महानगरपालिकाको सुन्दरता बढाउन, तापक्रम घटाउन र वातावरण संरक्षणमा योगदान पुग्नेछ ।”

महानगरपालिकाले गत वर्ष ५ हजार हाराहारी बिरुवा रोपेको थियो । यस वर्ष २० हजार हाराहारी बिरुवा खरिद गरेर लगाउँदैछ । आफ्नै नर्सरी बनेसँगै वार्षिक एक लाख बिरुवा उत्पादन गरेर रोप्ने योजना छ ।

lcci
You might also like

Comments are closed.