रामपुर नगरपालिकामा डेंगी रोग सङ्क्रमण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम

रामपुर (पाल्पा) । डेंगी रोग सङ्क्रमण तथा रोकथाम सम्बन्धी सचेतना कार्यक्रम एवं खोज र नष्ट गर अभियान कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरको आयोजनामा एकदिने सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रम अन्तर्गत साविक रामपुर गाविसका महिला स्वयम्सेविकालाई डेंगी रोग रोकथाम सम्बन्धी सचेतना प्रदान गरिएको छ । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख बालकुमारी थापाले पछिल्लो केही वर्ष यता डेंगी रोगको सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले यसको नियन्त्रणका लागि सबै सचेत हुन आवश्यक रहेको बताइन् । सामान्य हेलचेक्रयाईका कारण डेंगीको सङ्क्रमण बढ्ने र ज्यानै समेत लिन सक्ने भएकाले सचेतना अपनाउनुपर्ने उनी बताउँछिन् । छिटो र सरल तरिकाले प्रत्येकको घर घरमा डेंगी सम्बन्धी सचेतना फैलाउन महिला स्वयम्सेविकाको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका पूर्व सभापति देवराज ढकालले हरेक नागरिकको घरको डाक्टर महिला स्वास्थ्य स्वयमसेविका भएकाले डेंगीको नियन्त्रण र मानिसको ज्यान जाने जोखिमबाट बचाउन लामखुट्टेको बासस्थान नष्ट गर्न सचेत गराउनुपर्ने बताए । कार्यक्रममा रामपुर अस्पतालका डाक्टर सुनिलकुमार दासले डेंगी लाग्न नदिन लामखुट्टेको टोकाईबाट बच्नुको विकल्प नभएको बताए । कार्यक्रममा डेंगीको सङ्क्रमण, यसको प्रभाव, नियन्त्रण तथा बच्ने उपाय लगायतका विषयमा सहजिकरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा रामपुरका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसईटी जिल्ला शाखाका उपमन्त्री कमलराज भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रम उपशाखा रामपुरका कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराईले धन्यवाद दिएको कार्यक्रमको सञ्चालन सचिव तिलबहादुर श्रेष्ठले गरेका हुन् ।

lcci
You might also like

Comments are closed.