रामपुर (पाल्पा) । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने गरी संघीय सरकारमार्फत १७५ मिटर लामो झोलुङ्गे पुल निर्माण हुँदा आवतजावतमा सहज हुने भएको छ । निर्माण कम्पनी तामाकोशी जेके जेभीले २०८१ कात्तिकमा सम्पन्न गर्ने गरी रु १ करोड ३७ लाख ६७ हजार ९२० मा सम्झौता गरी पुल निर्माणको काम सम्पन्न गरेको हो । सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरले पुल निर्माणका लागि भ्याटसहित रु १ करोड ८४ लाख ८९ हजार ३१६ मा ठेक्का आह्वान गरेको थियो ।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गर्दै यस पुलले लुम्बिनी र गण्डकी प्रदेशलाई जोडेको हँुदा व्यापार, व्यवसाय, खेती किसान गर्नका लागि आवतजावतमा धेरै सहज हुने बताए । नागरिकको समस्यालाई सम्बोधन गर्दै पुल निर्माण गरिएको र यहाँ पुल निर्माण हुनु नै यो क्षेत्रका लागि महत्वपूर्ण विकासको मेरुदण्ड रहेको सभापति श्रेष्ठ बताउँछन् ।
पुलले दुई प्रदेश बीचको आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै यस क्षेत्रका स्थानीयको दैनिकीमा धेरै सहजता ल्याउने निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । पुल निर्माण भएपछि यस आसपासका स्थानीय उत्साहित बनेका छन् ।
पाल्पातर्फ निस्दी गाउँपालिकाको रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
Comments are closed.