पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पा जिल्लामा यस वर्ष धान उत्पादन बढेको छ । धान उत्पादनमा बृद्धि आएपछि किसान उत्साहित छ । कृषि ज्ञान केन्द्र पाल्पाका अनुसार यो वर्ष जिल्लामा ३६ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको छ ।

गतवर्ष यहाँ ३४ हजार ७६२ धान उत्पादन भएकोमा यसवर्ष ३.६ प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरीले जानकारी दिए । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातको धान प्रयोग, अनुकूल मौसमका कारण धान उत्पादन बढेको प्रमुख चौधरी बताउँछन् ।

“जिल्लाका केही स्थानामा धान पसाउने बेला रोग, किराको समस्या देखिएपनि पाल्पा जिल्लाभर समग्रमा उत्पादन बढेको छ, किसानले उन्नत जातको वीउँको प्रयोग गर्नु, यसवर्ष प्रयाप्त सिंचाई, आधुनिक प्रविधिको प्रयोगका कारण धान उत्पादनमा बृद्धि आएको छ” प्रमुख चौधरीले भने ।

पाल्पामा यसवर्ष ८ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको हो । गतवर्ष ८ हजार २ सय हेक्टर क्षेत्रमा मात्र खेती गरिएको थियो । गाउँ–गाउँमा स्थानीय, प्रदेश तथा संघीय सरकारको सहयोगमा सिंचाई आयोजना कार्यक्रम परेपछि कुलो, नहर व्यवस्थित हुँदा धान लगाउने क्षेत्रफल बढ्न थालेको छ ।

सिंचाईको अभावमा बाँझो रहेका जग्गामा पछिल्लो समय सिंचाई सुबिधा पुगेपछि बारी तथा बाँझिएका जमिनमा पनि किसानले धान लगाउने गरेका छन् । धान खेतीका लागी मौसम राम्रो परेपछि उत्पादन बृद्धि भएको किसान सीता देवकोटा बताउँछिन् ।

“धान रोपेदेखि नै वर्षा परिरहेकाले सिंचाई गर्न सजिलो भयो, वर्षदिनभर खाने अनाज राम्रो उत्पादन हुँदा खुशी लागेको छ, भकारीभरी धान भएपछि मन ढुक्क छ, कतै वीउँको समस्याले पसाउने बेला रोग, किरा देखिएपनि अधिकांश किसानले यसवर्ष अघिल्ला वर्षमा भन्दा धेरै धान स्याहार्नुभएको छ” उनले भनिन् ।

जिल्लामा साबित्री, साँवा मन्सुली, रामधान, हाइब्रिड, उन्नत लगायतका धान चलनचल्तिमा छन् । स्थानीय सरकारले अनुदानमा उन्नत जातका गुणस्तरीय वीउँ उपलब्ध गराउन थालेपछि बिगतका वर्षमा भन्दा पछिल्ला वर्षमा उत्पादन क्रमिक रुपमा बढ्दै गएको छ ।

 

lcci
You might also like

Comments are closed.