६ बर्षपछि फुटबलको लयमा फर्कदै आदर्श युवा क्लव

लेखनाथ । कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मङ्सिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्काएको हो ।

वि.स.२०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्शकप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ ।

प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदैछन् । आयोजक आदर्श युवा क्लव, कास्की ११, नेपाली सेना, प्रहरी र शसस्त्र प्रहरी सहितका विभागिय क्लव एवं तनहुँ, गोरखा र स्याङजाका एक/एक टिम सहभागी हुनेछन् । फुटवलमैदान मर्मत, अस्थायी प्याराफिट निर्माण लगायतको अन्य तयारी पुरा भएको क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

खेल प्राविधिक र रेफ्रीको समूहको निगरानीमा खेल मैदानलाई मिलाउने कार्य भइरहेको गुरुङले बताए । प्रतियोगिताका लागि शुभेच्छुक र विभिन्न निकायबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको कलवका कोषाध्यक्ष विष्णु हमालले बताए । मोफसलमा स्तरिय खेल खेलाउन चुनौतीपूर्ण रहेको उल्लेख गर्दै, हमालले सबैको साथ र सहयोगले हौसला थपेको बताए ।

मोफसलमा आरा रारा गोल्डकप पछि आदर्श युवा क्लवले मात्र निरन्तरताको श्रृंखला जारी राखेको क्लवका पूर्व अध्यक्ष विजय गुरुङले बताए । उनले आफु अध्यक्ष हुँदा राष्ट्रिय स्तरको २२ औं र २३ औं संस्करण खेलाएको सम्झदै, त्यसले यस क्षेत्रमा खेलाडी उत्पादनमा समेत सहयोग पुर्याएको उल्लेख गरे ।

बार्षिक रुपमा प्रतियोगिता जारी राखेको भए अहिले ३५ औं श्रृंखलामा पुगेको पूर्व अध्यक्ष गुरुङले बताए । प्रतियोगिताका लागि वडा नंं २९ को कार्यालयले संरक्षकत्व प्रदान गर्दै खेलमैदान मर्मत सम्भारमा सहयोग गरेको छ । महानगरका विभिन्न वडा कार्यालय, प्रदेशका विभिन्न कार्यालय तथा संघसंस्था र शुभेच्छुकले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको अध्यक्ष गुरुङले उल्लेख गरे ।

लेखनाथ रंगशालाको स्तरोन्नती, निर्माण रोकिएको कभर्डहल, प्याराफिट र खेल विकासका लागि राज्यका निकायको ध्यान लेखनाथ क्षेत्रमा नपुगेको पनि अध्यक्ष गुरुङले बताए । प्रतियोगिताको विजेतालाई नगद ४ लाख २५ हजार ५२५ र उपविजेतालाई २ लाख २५ हजार ५२५ र मेड प्रदान गरिनेछ । साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाइएको छ ।

You might also like

Comments are closed.