रामपुर (पाल्पा) । सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा मेडिटेशन मोटिभेशन कार्यक्रम आईतबार सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशका सांसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजुप्रसाद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भइरहेको भन्दै नेपालको परिवेशमा आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको बताए । मानसिक समस्याको उपचार विधि नै ध्यान धैर्यता भएको बताउँदै सांसद श्रेष्ठले २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वत परिणाम दिने भन्दै जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आग्रह गरेका छन् ।
नगर प्रमुख रमणबहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताए । सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको हुदा आध्यात्मको माध्यमबाट स्वय आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुने नगर प्रमुख थापा बताउँछन् । अरुलाई दोष दिएर समाजमा विकृति विसंगति पैलिएको भन्दै यसका लागि सबै व्यक्ति सुध्रिनु पर्नेमा जोड दिए । उपप्रमुख बालकुमारी थापाले अहिले समाजमा वितृष्णा संगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा, आचार्य विवेकले बुद्ध र बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा ज्ञान सिकाएका हुन् । नमस्ते पाल्पाको सभाहल भएको कार्यक्रममा जनप्रतिनिधि, राजनितिक दल, विद्यालयका प्रधानाध्यापक, विद्यालयका अध्यक्ष, कर्मचारी, पत्रकार लगायत गरी ३ सय बढीको सहभागिता रहेको थियो ।
नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् । कार्यक्रममा प्रशिक्षकलाई पाल्पाली ढाका टोपी र करुवा सहित सम्मान गरिएको छ ।
Comments are closed.