पाल्पामा सुन्तला खेतीलाई प्रवद्र्धन गर्न महोत्सव

रामपुर (पाल्पा) । पाल्पामा सुन्तला खेतीलाई प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको छ । जिल्लाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ र २३ गते हुने सुन्तला महोत्सवको तयारी तीव्र बनाइएको छ ।

महोत्सव सञ्चालनका लागि रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकाको रु ५ लाख÷५लाख सहयोग रहेको महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिए । उनकाअनुसार यस महोत्सवले सुन्तलाको उत्पादन तथा बजारीकरणमा व्यवसायीलाई राम्रो टेवा पुग्नेछ ।

महोत्सवमा सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुनेछ । सुन्तला उत्पादन गर्दाका सिकाई र अनुभव आदानप्रदान र बजारको सुनिश्चिता गर्न सकिनेछ । सुन्तलाका दाना, जुस, जाम तथा अन्य बस्तुको समेत प्रदर्शन गरिनेछ । महोत्सव रैनादेवी छहरा गाउँपालिका –५ कनौजेपानी खेलमैदानमा हुनेछ ।

गत वर्ष रिव्दीकोट गाउँपालिकाले पहिलो पटक सुन्तला महोत्सव राखेको थियो भने यस वर्ष दुई पालिकाले संयुक्त रुपमा सुन्तला महोत्सव आयोजना गरेका छन् । सुन्तलाको व्यावसायिक उत्पादनमा लागेका किसानलाई महोत्सवले प्रोत्साहन गर्नेछ । सुन्तलाजन्य कृषि बस्तु कागती, अमिलो, जुनार, मुन्तला पनि महोत्सवको स्टलमा राखिने जनाइएको छ ।

जिल्लाको पश्चिमी भेगमा अवस्थित रैनादेवीछहरा र रिब्दीकोट गाउँपालिकामा ठूलो मात्रामा सुन्तलाको व्यवसायी खेती हुने गरेको छ । यहाँ करिव पाँच सय बढी किसानले व्यवसायिक खेती गर्दै आएका छन् । सुन्तलाबाट किसानले राम्रो आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाबाट गत वर्ष रु ४६ करोडको सुन्तला निर्यात भएको छ । रिब्दीकोट गाउँपालिकाको ६ वटा वडा र रैनादेवीछहरा गाउँपालिकाको ३ वटा वडामा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । सुन्तला प्रवद्र्धन र खेती गर्न किसानलाई प्रोत्साहन गर्न ज्ञानकेन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.