भद्रपुर (झापा) । विर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ५० हजार क्विन्टल धान खरिद गर्ने भएको छ ।
कम्पनीका कार्यालय प्रमुख चुलमाया लोवाका अनुसार पहिलो चरणमा १५ हजार क्विन्टल सोनामन्सुली र ५ हजार क्विन्टल रञ्जितमन्सुली धान खरिद गर्न लागिएको हो । “कम्पनीले धानको समर्थन मूल्य प्रति क्विन्टल रु ३ हजार ५८० दशमलव ६२ तोकेको छ”, उनले भने, “कम्पनीले तोकेको मूल्य बजार भाउभन्दा माथि रहेकाले किसानले धान बिक्री गर्नेछन् ।”
३ लाख ८५ हजार मेट्रिक टन धान उत्पादन
झापामा यो वर्ष ३ लाख ८५ हजार एक सय ९६ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको छ । धान लगाइएको क्षेत्रफल घटे पनि उत्पादनमा भने सामान्य वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष ७५ हजार ४५९ हेक्टरमा धानखेती भएकामा उत्पादकत्व ५ दशमलव १० मेट्रिक टन प्रतिहेक्टर रहेको केन्द्रका सूचना अधिकारी चेतराज भण्डारीले जानकारी दिए । “गत वर्षभन्दा यो वर्ष ८ हजार ७९१ मेट्रिक टन धान उत्पादन बढेको छ”, उनले भने ।
जिल्लाको केही स्थानमा हर्दिना–६, सावा मसुली, बहुगुणी–२ लगायतका जातका धानबालीमा पेनिकल ब्लाइडको समस्या देखिए पनि समग्रमा धान उत्पादन बढेको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष धानखेतीका लागि मौसम अनुकूल हुनु, मलको उपलब्धताका साथै गुणस्तरीय तथा उन्नत बीउका कारण उत्पादन बढेको सूचना अधिकारी भण्डारीले बताए । रासस
Comments are closed.