सुशीला रेग्मी
रामपुर (पाल्पा) । स्थानीय सरकारका काम र नागरिकका गुनासो, अपेक्षा सङ्कलनका लागि पाल्पाको रामपुर नगरपालिकामा स्थानीयको राय सल्लाह सुझाव सङ्कलन कार्य लिन थालिएको छ । स्थानीय सरकारका कामबाट नागरिक कत्तिका सन्तुष्ट छन्, नगरका विभिन्न वडा तथा वस्तीमा भएका कामका प्रगति तथा समस्याबारे स्थानीयवासीसंग प्रत्यक्ष सुझाव सङ्कलन कार्य नगरपालिकाले सुरु गरेको छ ।
नगरपालिकाले ‘जनप्रतिनिधिसंग संवाद’ नामबाट नगरपालिका दशवटै वडामा गर्ने गरी अभियानको रुपमा अगाडी बढाएको छ । जनप्रतिनिधिले प्रत्यक्ष रुपमा वडा–वडामा पुगेर नगरवासीको गुनासो सुन्ने, विकास निर्माणका काम, सामाजिक कार्य, आवश्यकताको आधारमा वजेट निकासा, विकास निर्माणको काममा भएका ढिलासुस्ती, आगामी कार्यक्रममा महत्वका साथ समावेश गर्नुपर्ने योजना लगायतका विषयमा स्थानीयबाटै सुझाव लिन यो कार्यक्रम ल्याएको नगरपालिकाले जनाएको छ ।
जनताको गुनासो सुन्न, स्थानीयस्तरमा रहेका समस्याको पहिचान गर्न तथा आगामी नीति तथा कार्यक्रमको लागि सुझाव सङ्कलनका लागि गरिएको जनप्रतिनिधिसंग संवाद कार्यक्रमबाट नागरिकले निर्धक्कका साथ आफ्ना वडा तथा टोलका समस्या, सुधार गर्ने कुरा, नयाँ योजनाका लागि वजेट माग लगायतका विषयमा आफ्ना राय सुझाव व्यक्त गरेका छन् । नगरपालिकाले वडा–वडामा सुरु गरेको जनप्रतिनिधिसंग संवाद कार्यक्रमले वडाभित्रका साना देखि ठूला सबै खालका समस्या, विकास निर्माणका कार्य, तत्काल गर्नुपर्ने काम लगायतका विषयमा महत्वपूर्ण कुरा उठान गर्ने नागरिकलाई अवसर बनेको चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकनाथ पोखरेल बताउँछन् ।
“नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सबैको उपस्थितीमा प्रत्यक्ष सहभागी भएर गाउँका महत्वपूर्ण समस्याहरु, नागरिकका गुनासो, नगरवासीको अपेक्षाअनुसार स्थानीय सरकारबाट काम भए या भएनन्, आगामी दिनमा सुधार गरेर रचनात्मक कार्यमा काम गर्न यस कार्यक्रमले नगरपालिकालाई महत्वपूर्ण सुझाव सङ्कलन गर्ने माध्यम बनेको छ” उनले भने ।
नगर प्रमुख, उपप्रमुख, नगरपालिकाका दशवटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरूको अनिवार्य उपस्थिति रहने गरी वडा तहमा पुगेर विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्था, समूह लगायत वडाका सरोकारवालालाई सहभागी गराएर कार्यक्रम गरिएको छ । नगरपालिकाले वडा नं १ बाट सुरु गरेको यस कार्यक्रम दशवटै वडामा क्रमिक गर्दै जाने कार्यक्रमअनुसार अगाडी बढेको जनाएको छ ।
वडा नं १ मा भएको जनप्रतिनिधिसंग संवाद कार्यक्रममा सहभागीले टोल विकास संस्थाको काम, टोल विकास संस्था दर्ता र सञ्चालनका लागि वजेट विनियोजन, विकास निर्माणका कार्य, वडामा सञ्चालन गरिने योजना सम्झौता, योजनाका कामको नियमित अनुगमन र मुल्याङ्कन, सरकारी संरचनामा बनेका संरचनाको संरक्षण, सडक सुरक्षा, सवारी साधनको भाडादर कार्यान्वयन, विद्यालयका शिक्षक दरबन्दी, आपराधिक क्रियाकलाप नियन्त्रणका लागि पहल गर्न, आयआर्जनमुलक क्षेत्र, कृषि तथा पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नती, पर्यटकन क्षेत्रको विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर वजेट उपलब्ध गराउन सहभागीले आफ्ना सुझाव व्यक्त गरेका छन् ।
नागरिकबाट आएका सुझाव र वडाका समस्यालाई नगरपालिकाले आवश्यकता र महत्वका आधारमा प्राथमिकता दिएर काम गर्ने नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । नागरिक र जनप्रतिनिधि एकै ठाउँमा सहभागी भएर नगर तथा वडाका विषयमा संवाद गर्दा तत्काल गर्नुपर्ने गाउँ टोलका साना देखि ठूला समस्याबारे बाहिर आउने हुँदा नागरिकको सुझावलाई गम्भीर रुपमा महत्वका साथ लिएर आगामी नीति तथा कार्यक्रममा समावेश गरी योजना सञ्चालन गर्ने नगर प्रमुख थापाले बताए ।
“हामीमाझ वडा तथा टोल वस्तीमा गर्नुपर्ने कतीपय कामहरु बाहिर नआएको पनि हुन सक्छ, नागरिकले समस्या भोगेर पनि कतिपय कुराहरु जनप्रतिनिधि, कर्मचारीसामु व्यक्त गर्न नसकिरहेको वा बताउने समय नमिलेको हुन सक्छ” नगर प्रमुख थापाले भने,–“वडा–वडामा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद भएपछि धेरै कुराहरु जानकारी हुने भएकाले यो कार्यक्रम सुरु गरेका हौँ, नागरिकले उठाएका समस्या, माग र सुझाव जायज छन्,” ।
यसरी वडा–वडामा संवाद कार्यक्रम सुरु गरिएपछि नगरपालिकाका कामहरु नागरिकले सुन्ने र जानकारी लिने तथा नागरिकका समस्या जनप्रतिनिधि र कर्मचारीले प्रत्यक्ष बुझ्ने अवसर हुने भएकाले काम गर्न धेरै सहज हुने प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले बताए । नगरपालिकाले थालेको जनप्रतिनिधिसंग संवाद कार्यक्रम सिधै नागरिकसंग जोडिएको हुँदा यो कार्यक्रमले नगरको समग्रमा विकास निर्माणमा महत्वपूर्ण प्रभाव पार्नेछ । यस्ता कार्यक्रमलाई निरन्तरता दिदै समय–समयमा गर्नु अति आवश्यक रहेको नागरिकले बताएका छन् ।
Comments are closed.