खेतीयोग्य माटोमा फस्फोरस र पोटासको मात्रा कमी

सुशीला रेग्मी
रामपुर (पाल्पा) । खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी देखिएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादकत्व घट्ने कृषि प्राबिधिक बताउँछन् ।

रामपुरमा विहिवार भएको माटो परिक्षण शिविरमा परिक्षण गरिएका अधिकांश माटोमा फस्फोरस र पोटासको मात्रा कमी देखिएपछि किसानलाई माटोको उर्वराशक्ति बढाउन आवश्यक पर्ने तत्व मिलाएर प्रयोग गर्न सुझाव दिइएको छ ।

रामपुर नगरपालिकाको आयोजना तथा कृषि ज्ञानकेन्द्र पाल्पाको प्राबिधिक सहयोगमा भएको शिविरमा नगरका दशवटै वडाबाट नमुनाका रुपमा माटो परिक्षण भएको छ । विभिन्न स्थानबाट किसानले ल्याएका ८२ वटा माटोको नमुना जाँच गरिएको छ । जाँच गरिएका माटोमध्ये धेरैमा फस्फोरस र पोटासको मात्रा कमी रहेको पाइएको हो ।

परिक्षणका लागि ल्याएका ८२ वटा माटोको नमुनामध्ये शिविरमा ४० वटाको नमुना परिक्षण गरिएकोमा नाइट्रोजनको मात्रा तटस्थ, फस्फोरस र पोटासको मात्रा भने कम देखिएको कृषि ज्ञान केन्द्र पाल्पाका कृषि प्राविधिक रबिन बताएका छन् । शिविरमा परिक्षण गर्न बाँकी रहेका नमुना माटोमा प्राङ्गारिक अवस्थाको जाँचका लागि ज्ञानकेन्द्रको कार्यालयमा परिक्षण गरिने उनले जनाए ।

शिविरमार्फत आफ्नै गाउँ ठाउँमा माटो परिक्षण गर्न पाउँदा किसानलाई धेरै राहत मिलेको अगुवा कृषक दिलबहादुर थापा बताउँछन् । उनले बेला बेलामा हुने यस्ता शिविरले आफ्नो खेतबारीको माटोको अवस्था कस्तो छ, उत्पादन घट्न नदिन ध्यान दिनुपर्ने कुराबारे धेरै जानकारी हुने बताएका छन् ।

खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कमी हुँदा उत्पादनमा कमी आउने, उत्पादकत्व घट्ने, माटो बिग्रने हुँदा माटोलाई आवश्यक पर्ने तत्वको मात्रा मिलाएर प्रयोग गर्न किसानलाई सुझाव दिइएको रामपुर नगरपालिका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरे बताउँछन् ।

“रामपुर क्षेत्रका किसानले आफ्नो खेतबारीको माटो परिक्षण गर्न चासो कम देखाउने गर्नुभएको छ, नगरपालिका कार्यालयले पूर्व सूचना जारी गरेपनि परिक्षणका लागि ल्याउने कम हुनुुहुन्छ, नियमित रुपमा खेतीयोग्य जमिनको माटो परिक्षण गर्नुपर्छ भन्ने बानी किसानमा अझै बसेको छैन” उनले भने ।

पहिला माटो परिक्षणका लागि यसभन्दा अघि नमुना सङ्कलन गरेर प्रयोगशाला पोखरा तथा बाँकेको खजुरा प्रयोगशालामा लैजानुपर्दा किसानलाई समस्या थियो । अहिले कृषि ज्ञानकेन्द्र पाल्पामै माटो परिक्षण प्रयोगशालाको व्यवस्था गरिएको छ ।

ज्ञानकेन्द्रले जिल्लाका स्थानीय तहसंग समन्वय गरेर बेला बेलामा शिविरमार्फत माटो परिक्षण कार्य गरिरहेको कार्यालय प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिए । उनकाअनुसार किसानले आफूलाई उपयुक्त समयमा पनि कार्यालयमा पुगेर माटो परिक्षण गर्न सकिनेछ ।

You might also like

Comments are closed.