रामपुर (पाल्पा) । उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका अवसरमा उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम अन्तर्गत लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
नगरपालिकाभित्रका आरधाभूत तह र माध्यमिक तहका छात्रालाई लक्षित गरेर वक्तृत्वकला प्रस्तुति र लैगिंक हिंसा सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले प्राय हरेक किसिमको हिंसा घर परिवारको सदस्यबाटै हुने गरेको हुँदा यसको लागि हामी आफै आफ्नै घरभित्रबाट निराकरण गर्न सुरु गरे सबै किसिमका हिंसाको अन्त्य हुने बताए ।
नगर प्रमुख थापा भन्छन्, “हिंसाको धेरै स्वरुपहरु छन् ,हिंसा लैगिंक मात्र होइन जुनसुकै हिंसा घर परिवारबाट शुरु हुन्छ त्यसैले घर परिवार र हामी आफै सचेत भईयो भनेकुनै पनि खालको हिंसाबाट समाज मुक्त हुन्छ” । नगर प्रमुख थापाले विद्यार्थीबाटै सचेतना फैलाउन सके समाज सुधार हुने भन्दै विद्यालय र विद्यार्थीहरु बाट हिंसा न्यूनिकरणका लागि घर परिवारबाटै सुरुवात गर्न आग्रह गरे । उनले बालविवाहका कारण बढी लैगिंक हिंसा हुने गरेको उल्लेख गरेका छन् ।
रामपुर नगर उपप्रमुख बालकुमारी थापाले लैगिंक हिंसा सम्बन्धी विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरेपनि हिंसा न्यूनिकरण हुन नसक्नु चिन्ताको विषय भएको बताइन् । उनले विभिन्न क्षेत्रमा हुने हिंसालाई निर्मूल पार्न सबै सचेत नहुनुले लैगिंक हिंसा चुनौतिको रुपमा रहेको औँल्याइन् । साथै हिंसारहित समाज निर्माणका लागि सबै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले लैगिंक हिंसा न्यूनिकरणका लागि विभिन्न अभियान तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै लैगिंक हिंसाप्रति शुन्य सहनशिलताको नीति अनुसार अघि बढेको बताए । साथै लैंगिक हिंसा निवारण कोष तथा आपतकालिन बाल उद्दार कोष स्थापना गरी हिंसाको न्यूनिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जनाएका छन् ।
कार्यक्रममा नगर प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिलबहादुर खाँणले लैगिंक हिंसा सम्बन्धी कानून भएपनि यसको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको बताएका छन् । उनले हिंसाको विषय र हिंसाको स्रोतबारे सबै जानकार भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा हिंसा बढिरहेको उल्लेख गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले घरेलु हिंसा संग जोडिएका उजुरी बढी आउने गरेको बताए । शिक्षा र चेतनाको कमीका कारण हिंसा बढेको भन्दै हरेक हिंसाको कानुनी उपचार गर्नुपर्ने उनी बताउँछन् ।
कार्यक्रमका अवसरमा रामपुर अस्पतालका एकद्धार संकट व्यवस्थापनका फोकल पर्सन सरिता पौडेलले हिंसाको प्रकार, अवस्था, लैगिंक हिंसामा परेका पीडितलाई अस्पतालमा उपचारको व्यवस्था, मानसिक सहायता लगायतका विषयमा सहजिकरण गरेकी हुन् । नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रममा नगरपालिका भित्रका आधारभूत तह र माध्यमिक तहका गरी २० विद्यालयका छात्राहरुले लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुत गरेका छन् ।
कार्यक्रममा सहभागी विद्यार्थीलाई रामपुर नगरपालिकाको अभिलेख डायरी र स्टेशनरी सामग्रीसहित पुरस्कृत गरिएको छ । नगर उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष खाँणको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् ।
“हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ गत मङ्सिर १० गते देखि सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिकाले समुदाय प्रहरी साझेदारी, कानूनी सचेतना कार्यक्रमसहित उपप्रमुखसंग किशोरी तथा बालिका शिक्षा कार्यक्रम, लैगिंक हिंसा सम्बन्धी वक्तृत्वकला प्रस्तुतिकरण र अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
Comments are closed.