५ दिन लगातार घटेको नेप्से आज उच्च अङ्कले बढ्यो

काठमाडौं । पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ४५ दशमलव ८८ अङ्कले बढेर २ हजार ७१५ दशमलव ७१ को विन्दुमा कायम भएको हो । यो १ दशमलव ७१ प्रतिशतको वृद्धि हो ।

परिसूचक बढेपनि कारोबार रकम भने रु ५ अर्बमा खुम्चिएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता शेयर ५६ हजार ३५० पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४५० बराबरको कारोबार भएको छ ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने ० दशमलव ३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी तीन दशमलव ४३ प्रतिशतले बढेको छ । विकास बैंक १ दशमलव ६३, वित्त १ दशमलव ८३, होटल तथा पर्यटन १ दशमलव ०५, जलविद्युत् १ दशमलव ९६ र लगानी समूह ० दशमलव ७९ प्रतिशतले बढेको छ ।

जीवन बिमा समूह १ दशमलव ०७, उत्पादन तथा प्रशोधन ० दशमलव ६०, लघुवित्त ० दशमलव ४२, निर्जीवन बिमा १ दशमलव ०३, व्यापार १ दशमलव ५६ र अन्य समूह ० दशमलव ५७ प्रतिशतले बढेको हो ।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९७ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत रहेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख २ हजार ४४३ बराबरको शेयर किनबेच भएको छ ।

 

lcci
You might also like

Comments are closed.