लेखनाथ महोत्सवमा आमा समुह र महिला समुहले सघाउने प्रतिबद्धता

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने ‘२०औँ लेखनाथ महोत्सव’ को तयारी तीव्र पारिएको छ । आउँदो पुस १८ देखि माघ १ गतेसम्म हुन गइरहेको महोत्सव सफल बनाउन विभिन्न समुह, संघ संस्थाले सघाइहेका छन् ।

महोत्सवका सन्दर्भमा आयोजकले आमा समुह, महिला समुहका प्रतिनिधिसंग छलफल गरेको छ । सामुहिक रुपमा आमा समुह र महिला समुहले महोत्सवलाई सफल बनाउन भरपुर सहयोग र साथ दिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिंदै यहाँका विभिन्न संघ संस्था र समुहले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव हुन सफल भएको बताए । उनले महोत्सवमा महिला तथा आमा समुहको सहभागीता रत्यौली र नाचगान कार्यक्रममा मात्र नभई संघले विभिन्न तालिमको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको बताएका छन् ।

महिला तथा आमा समुह परिचालन उप–समिति संयोजक सन्ध्या दाहालले महिलाको सक्रिय सहभागिताका कारण झाँकी र्याली, रत्यौली लगायतका कार्यक्रम सफल भएको बताउँदै महोत्सवलाई सक्दो सहयोग गर्न आग्रह गरिन् । रत्यौली कार्यक्रम उप–समिति संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै अब हुने कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समिति संयोजक बुद्धिकुमारी मगर, हाजिरीजवाफ प्रतियोगिता संयोजक प्रभाकुमारी पौडेल, ग्रामिण रैथाने प्रविधि व्यवस्थापन उप–समिति संयोजक पार्वती थापा, लगायतले आफ्ना भनाइ राखेका छन् ।

महिला तथा आमा समुह परिचालन उप–समिति संयोजक सन्ध्या दाहालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा सहभागीलाई धन्यवाद सहसंयोजक अञ्जली पण्डित र कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी हुन् ।

You might also like

Comments are closed.