रामतुलसी नमुना माविको खाना महोत्सव, स्थानीय परिकारमा आकर्षण

सुशीला रेग्मी
रामपुर (पाल्पा) । मकै, भट्टमास, बटुक, सेलरोटी, सिस्नोको परिकार जस्ता विभिन्न खानाका परिकारको स्वाद लिन पाउँदा दर्शक औधी उत्साहित छन् । रामतुलसी नमुना माध्यमिक विद्यालयका विद्यार्थीले तयार पारेका खानाका स्वादमा दर्शक लोभिए । स्थानीय परिकार भएकाले खानाले दर्शकको मन जितेको छ । विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा आईतवार राखिएको खाना महोत्सव स्थानीय खानाको स्वाद लिने र नयाँ कुरा सिक्ने माध्यम बनेको छ ।

विद्यार्थीलाई व्यवहारिक पक्षबाट ज्ञान आर्जन गराउन रामतुलसी नमुन माविले गरेको खाना महोत्सवले विद्यार्थी, अभिभावक, शिक्षक तथा दर्शकले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएका छन् । सेलरोटी, बटुक, पकौडा, मकै, भट्टमास, सिस्नोको परिकार, अचार, थारुखाजा, योमरी, मःम जस्ता थरीथरीका स्वादिलो परिकारले अवलोकनकर्ताको मन जितेको छ ।

महोत्सव कक्षमा सरिक भई उत्साहित हुँदै विभिन्न थरीका खानाका परिकारको स्वाद लिदा अवलोकनकर्ता पनि उत्साहित देखिन्थे । समुहमा समाहित प्रत्येक विद्यार्थीबाट रु दुई सय रकम सङ्कलन गरी खानाका परिकार तयार गरी उत्साहजनक व्यापार गरेको कक्षा १० मा अध्ययनरत सरिता बयम्बु बताउँछिन् । समुहले बटुक, फे्रन्च फ्राई परिकार तयार पारी करिव रु चार हजार बराबरको बिक्रि समेत गरेको उनले जानकारी दिइन् ।

यमरी परिकार यो क्षेत्रमा नौलो भएकाले पनि दर्शकले अनौठो मान्दै स्टलमा खरिद गर्नेको घुईचो लागेको कक्षा ९ ‘ए’ मा अध्ययनरत कञ्चन श्रेष्ठले बताइन् । योमरीले दर्शकको मन जितेको र खरिदकर्ताले स्वाद असाध्यै मन पराएको उनको भनाइ छ । खाना महोत्सवमा आर्जन गरेको रकमबाट दश प्रतिशत रकम विद्यालयको बगैचा तथा बालउद्यान क्षेत्रमा लगानी गर्ने विद्यार्थीहरु बताउँछन् ।

विद्यालय प्राङ्गणमा विद्यार्थीले तयार पारेका २५ वटा खानाका परिकार कक्ष र दशवटा विज्ञान प्रयोगशाला तथा कृषि प्रदर्शनी कक्ष राखिएको थियो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीले समुहमा आफै खाना बनाउने र प्रदर्शनी कक्षबाट बिक्रि गर्ने कार्य गरेका हुन् । स्थानीय परिकारहरु तयार गरी प्रदर्शनीमा राखिएको हो । स्थानीय खानाको प्रवद्र्धन गर्न, विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउँदै बृहत् रुपमा खाना महोत्सव आयोजना गरिएको हो ।

कक्षा ११ देखि माथिका विद्यार्थी समुहले भने विज्ञान प्रयोगशाला तथा कृषि प्रदर्शनी कक्षा तयार पारेर प्रदर्शनी गरेका थिए । यहाँ आयोजना गरिएको प्रदर्शनी कक्ष नयाँ कुरा सिक्ने थलो बनेको छ । यस महोत्सवमा अभिभावक, जनप्रतिनिधि, समाजसेवी, सरोकारवाला लगायत करिव ५ हजारले अवलोकन गरेको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिए ।

यहाँ भएको खाना महोत्सवको लुम्बिनी प्रदेशका अर्थ, उद्योग र पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष लगायतले अवलोकन पश्चात् विद्यार्थीलाई हौसला प्रदान गरेका छन् ।
औपचारिक शिक्षा मात्र नभई व्यवहारिक पक्षलाई दृष्टिगत गर्दै आयोजना गरेको खाना महोत्सवले विद्यार्थीले धेरै कुरा सिक्ने र बुझ्ने सुनौलो अवसर विद्यालयले सिर्जना गरेको प्रधानाध्यापक लम्सालले बताए ।

“विद्यार्थीलाई हामीले नयाँ सिकाइमा जोड दिएर शिक्षण कार्य गरिरहेका छौँ, हामीले सिक्नका लागि रामतुलसी भन्ने ध्येयका साथ यहाँबाट उत्पादन भएको विद्यार्थी हरेक क्षेत्रमा अब्बल भएर निस्केका छन्” प्रअ लम्सालले भने । यो क्षेत्रमा नै पहिलो पटक शैक्षिक क्षेत्रमा बृहत् रुपमा भएको खाना महोत्सवले रामपुरको शिक्षा क्षेत्रमा एउटा नयाँ सन्देश दिएको छ ।

 

 

You might also like

Comments are closed.