व्यापार छाडेर टमाटर खेती, वार्षिक ५ लाखभन्दा बढी आम्दानी

बरहथवा (सर्लाही) । सर्लाहीको उत्तरी क्षेत्र तरकारी उत्पादनको हिसाबले निकै परिचित ठाउँ हो । यस क्षेत्रमा उत्पादित हरियो तरकारी सर्लाहीसहित देशका मुख्य बजारसम्म पुग्ने गरेको छ ।

यहाँका किसानले अन्य तरकारीसँगै टमाटर खेतीबाट मनग्य आम्दानी लिने गरेका छन् । त्यसैमध्येका एक हुन्, हरिवन नगरपालिका–४, गणेशचोक निवासी ५९ वर्षका कामिल मिकरानी । उनका अनुसार टमाटर खेतीबाट बर्सेनि रु ५ लाखसम्म आम्दानी भइरहेको छ ।

कक्षा ८ सम्म औपचारिक शिक्षा लिएका मिकरानीले टमाटर खेती गर्नकै लागि व्यापार छाडेको बताए । “सुरुमा थोरै मात्र तरकारी र त्यसमा पनि टमाटर लगाउने गरेको थिए”, उनले भने, “धेरै समय कपडा व्यापारमा बिताएपछि कृषिकर्ममा लागेको हुँ ।”

मिकरानीले अहिले २ बिघामा टमाटर खेती गरिरहेका छन् । एक बिगामा चिउरी र एक बिगामा कविता जातको टमाटर रोपेका छन् । कात्तिकमा रोपेको टमाटर पुस अन्तिम तिर टिप्न मिल्ने हुन्छ । “पहिला अरुको खेत भाडामा लिएर ४ बिघासम्म टमाटर खेती गर्ने गरेको थिए”, उनले भने, “उमेर ढल्कियो छोराछोरी खेतमा काम गर्न मान्दैनन् । आफैँले २ बिघा लगाएको छु । ६ महिनामा रु ५ लाखको टमाटर आरामले बेच्छु ।”

राम्रो भाउ आउने समयमा उत्पादन गर्न सक्दा टमाटरबाट पैसा हुने उनी बताउँछन् । अन्य समयमा बालीको स्याहार राम्रो हुँदा उत्पादन बढ्ने भएकाले आम्दानी खासै नराम्रो नहुने उनको अनुभव छ । “किसानले उत्पादनको मूल्य राम्रो पाए हुन्थ्यो भन्नु सामान्य हो”, मिकरानीले भने, “मैले खेती सुरु गरेको ३९ वर्ष भयो, खेरै गएर डुब्यो भन्नुपरेको छैन ।”

उनले प्रतिक्यारेट रु ३ सयदेखि रु १२ सयसम्म टमाटर बिक्री गर्दै आएका छन् । टमाटर एक वर्षमा ६ महिना मात्र खेती हुने गरेकाले अन्य समय धान तथा मकै खेती गर्ने गरेको उनले जानकारी दिए । यसरी गरिने फरक–फरक खेतीले बाली चक्र पूरा हुने र खेत राम्रो हुने उनको भनाइ छ ।

“पहिलो तीन महिना खुब स्याहार गरे पछिको तीन महिना मज्जाले बाली टिप्न पाइन्छ”, मिकरानीले भने, “कहिले व्यापारी खेतमै आँउछन् । कहिले बजारसम्म लैजाने गरेको छु ।” टमाटर खेतीबाटै थोरै खेती समेत जोडेको उनले सुनाए ।

किसान लालबन्दी नगरपालिका–१, नवलपुरका दिनेश बैठाले टमाटर खेतीबाट मनग्य आम्दानी गरेको बताएका छन् । अहिले किसाने टमाटर रु १८ सय क्यारेटसम्म बेच्न पाएको र उत्पादन समयको किसानले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

खेती गरेर आम्दानी हुँदैन भन्ने धारण आमसमाजमा व्याप्त भएका कारण नयाँ पुस्ता खेती किसानीमा आउन नचाहेको उनको बुझाइ छ । प्राविधिक ज्ञान लिएर खेती गर्ने हो भने, टमाटर मात्र नभइ मौसमअनुसार जुनसुकै हरियो तरकारी उत्पादनबाट राम्रो आम्दानी लिन सकिने उनले दाबी गरे ।

३ वर्ष वैदेशिक रोजगारीको क्रममा दुबई बसेर आएका बैठाले टमाटर खेतीबाट घरमै परिवारसँग बसेर रु ४ लाखदेखि ५ लाखसम्म वर्षमा आम्दानी गर्ने गरेको बताए । उनले आफ्नो एक बिघा र हुण्डामा लिएको १० कठ्ठा खेतमा कविता जातको टमाटर लगाएका छन् ।

सुरक्षित भण्डारणको समस्या

उत्पादन भएको तरकारी सुरक्षितसँग भण्डारण गर्ने व्यवस्था नहुँदा भने, किसान मारमा परेको उहाँहरूको भनाइ छ । राख्ने ठाउँ नहुँदा व्यापारीको मूल्यमा सामान छाड्नुपर्ने बाध्यता रहेको मङ्गलबार लालबन्दीस्थित कृषि थोक बजारमा टमाटर बिक्रीका लागि आएकी रिता मगरले गुनासो गरिन् ।

“आज मूल्य नभए राखेर भोलि बेच्छु, भन्ने अवस्था छैन, बिग्री हाल्छ”, उहाँले भन्नुभयो । सर्लाहीको बागमती, हरिवन, लालबन्दी, ईश्वरपुर, हरिपुर, चन्द्रनगर, बरहथवालगायत पालिकामा उत्पादन भएका हरियो तरकारी देशका मुख्य बजारसम्म पुग्ने गरेको कृषि थोक बजारका व्यापारी वीरेन्द्र महतोले बताए । रासस

 

lcci
You might also like

Comments are closed.