वीरगञ्ज (पर्सा) । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको ५ महिनामा रु १९ अर्ब ७८ करोड ११ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले ५ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले चालु आवको ५ महिनामा राजस्व सङ्कलनमा कमी आएको जानकारी दिए । कार्यालयका अनुसार विदेशी वस्तु तथा सामानको आयात घटेसँगै राजस्व सङ्कलन पनि प्रभावित भएको छ ।
चालु आवको साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४ अर्ब ६४ करोड, असोजमा रु ४ अर्ब ३६ करोड र कात्तिकमा रु ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको कार्यालय जनाएको छ । यस्तै, मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् रु ३ अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आवको ५ महिनामा रु २१ अर्ब ४ करोड १६ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो । रासस
Comments are closed.