मुलुकमा शान्ति सुरक्षालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री लेखक

सुशीला रेग्मी
रामपुर (पाल्पा) । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षालाई कार्यान्वयन गर्न सरकार पुर्ण प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार रामपुर नगरपालिकामा नवनिर्मित इलाका प्रशासन कार्यालयको भवन उद्घाटन राहदानी र राष्ट्रिय परिचय पत्र सेवा विस्तार कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लोकतन्त्रको पुर्ण सुनिश्चितता भनेकै शान्ति सुरक्षा भएकाले यो सरकार मुलुकमा शान्ति सुरक्षा दिन सधैं प्रतीवद्दता रहेको गृहमन्त्री लेखकले बताएका हुन् ।

उद्योगधन्दा, व्यवसाय, नागरिकलाई दिने सेवा सुबिधाका लागि सरकारले कुनै कन्जुस्याइँ नगर्ने उनको भनाइ छ । रामपुरमा प्रहरी उपरीक्षकसहितको दरबन्दीका लागि मन्त्रालयले व्यवस्था गर्ने उनले जनाएका छन् । जिल्ला प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने मन्त्री लेखकले बताए । सरकारको पहिलो प्राथमिकता भनेको नागरिकलाई सरल किसिमले सेवा दिने गरि वर्तमान सरकारले जोड दिएर काम गरेको गृहमन्त्री लेखकले बताएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद आचार्य, राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, लुम्बिनी प्रदेशका अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापति राजुप्रसाद श्रेष्ठ, प्रदेश सांसद वीरबहादुर राना, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापा, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना लगायतले बोल्दै पाल्पाको विकास, आवश्यकता तथा शान्ती सुरक्षा जस्ता विषयमा गृहमन्त्री लेखकसमक्ष जानकारी गराएका छन् ।

नेपाल सरकारका गृह सचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकिय अधिकृत दिनेश ज्ञवालीले गरेका हुन् । कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सहभागीलाई स्वागत गरेका हुन् । समयमै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी पुरुषोत्तम केसीलाई सम्मान गरिएको छ ।

सदरमुकाम तानसेनबाट प्रवाह हुँदै आएको राहदानी र राष्ट्रिय परिचय पत्र सेवा पुर्वी पाल्पाका नागरिकलाई सहज सेवा दिन इलाका प्रशासन कार्यालय रामपुरबाट बुधवार देखि थप सेवा विस्तार गरिएको छ । भाडाको घरबाट सेवा दिदै आएको कार्यालयले यस आर्थिक वर्षदेखि नयाँ भवनबाट सेवा दिइरहेको छ । पछिल्लो समय औसतमा दैनिक ६० वटा नेपाली नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ ।

रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिकाको वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्मका वडाका नागरिकले यस कार्यालयबाट सेवा लिदै आएका छन् । रामपुर, निस्दी र पूर्वखोलाका १७ वटा वडाका नागरिक प्रत्यक्ष लाभान्वित बनेका छन् । कार्यालयबाट यसअघि नेपाली नागरिकता वितरण, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणित लगायतका सेवा प्रवाह भइरहेको छ । यी सेवासंगै अब राहदानी तथा राष्ट्रिय परिचय पत्र सेवा थपिएको छ ।

रामपुर नगरपालिका वडा नं ५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माणको कार्य सम्पन्न भएको हो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसंगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।

सेवा सुचारु भएसँगै राहदानी र राष्ट्रिय पत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हट्ने भएको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । वि.सं २०७३ मा तत्कालिन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।

 

 

You might also like

Comments are closed.