सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाका स्थानीय तहका प्रमुखहरुले गृहमन्त्री समक्ष शान्ती सुरक्षाको माग गरेका छन् । जिल्लाका स्थानीय तहका प्रमुखहरुले पालिकाको सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी चौकी स्थापना, स्तरोन्नतीदेखि दरबन्दी सम्मका व्यवस्थाको माग गरेका हुन् ।
गृहमन्त्री रमेश लेखकले शान्ती सुरक्षा व्यवस्थाप्रति सरकार संवेदनशिल रहेको बताएका छन् । बुधवार पाल्पाको रामपुर नगरपालिकामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिले प्रहरी, स्थानीय सरकारप्रति नेपाली जनताको विश्वास र भरोसा बढ्दै गएको र शान्ती सुरक्षाप्रति हाम्रो संवेदनशिलता बढेको बताएका हुन् । उनले पालिका प्रमुखहरुले उठाउनुभएको माग जायज छ, यहाँको आवश्यकतालाई हेरेर व्यवस्थापनका लागि काम गर्ने प्रतिबद्धता जनाए । समग्र पाल्पाका पालिकामा प्राथमिकताका साथ गर्नुपर्ने कामलाई जोड दिएर क्रमिक रुपमा समस्याको समाधान गर्दै जाने उनको भनाइ छ ।
रामपुर नगर प्रमुख रमणबहादुर थापाले रामपुर चारैतिरको केन्द्र भागमा रहेकाले जनघनत्व बढ्दै जादा शान्ती सुरक्षालाई मजबुत बनाउन प्रहरी दरबन्दी थप गर्नुपर्ने अति आवश्यकता रहेको बताए । कालीगण्डकी करिडोर सडकखण्डले रामपुरलाई नारायणगढ, बुटवल, काठमाडौं, पोखरा जस्ता ठूला शहरलाई जोडेकाले शान्ती सुरक्षा व्यवस्थामा नगरमा चुनौती थपिएको नगर प्रमुख थापा बताउँछन् ।
अहिलेको अवस्थामा प्रहरी निरिक्षकको दरबन्दीले यहाँको शान्ती सुरक्षा कायम गर्न धान्न नसक्ने स्थिती रहेको जानकारी गराउँदै नगर प्रमुख थापाले यस क्षेत्रको शान्ती सुरक्षालाई मजबुत र फराकिलो बनाउन प्रहरी उपरिक्षकसहितको दरबन्दी व्यवस्था गरिदिन गृहमन्त्रीलाई निवेदन गरेका छन् ।
तराई र पहाडलाई जोड्ने सिद्धार्थ राजमार्गको तिनाउँमा प्रहरी चौकी स्तरोन्नती, नुवाकोटमा अस्थायी प्रहरी चौकी स्थापना गर्न तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले माग गरे । रैनादेवीछहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले पालिकाको सिमाना छुट्याउन मिल्ने सहज व्यवस्था भएमा यहाँको शान्ती सुरक्षामा सहजता हुने बताए ।
माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले प्रहरी चौकी भएतापनि दरबन्दी कम रहेकाले स्तरोन्नतीको लागि गृहमन्त्रीलाई अनुरोध गरेका छन् । कागजमा अधिकार उल्लेख भएपनि काम गर्न कठिनाई रहेको र स्थानीय तहमा काम गर्न कानूनलाई सहज व्यवस्था बनाउनुपर्ने, प्रक्रियागतमा मात्र जादा समस्या हुने गरेको रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसीले जानकारी दिनुहुदै फेकमा प्रहरी चौकी आवश्यकता रहेको अवगत गराए ।
रम्भा गाउँपालिकामा रहेका तीनवटा प्रहरी चौकीमा हाल ५० प्रतिशत पनि दरबन्दी नरहेको, दरबन्दी पूरा नहुँदा शान्ती सुरक्षामा चुनौती थपिएको, प्रहरी निरिक्षक सहितको दरबन्दी उपलब्ध गराइदिन अध्यक्ष विष्णुप्रसाद भण्डारीको अनुरोध छ । शान्ती सुव्यवस्था प्रभावकारी बनाउन आवश्यक जनशक्ति पूरा गर्नुपर्ने उनी बताउँछन् ।
कालीगण्डकी करिडोरमा पर्ने निस्दी गाउँपालिका वडा नं १ मा अस्थायी प्रहरी चौकी स्थापना गर्नका लागि जग्गा व्यवस्थापन भइसकेको, निस्दी ५ को बेलडाँडामा प्रहरी बिट, नेपालकै ठूलो होङ्सी सिमेन्ट उद्योगमा प्रहरी चौकी अति आवश्यक रहेकाले दरबन्दी व्यवस्थाका लागि निस्दीका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी गराएका छन् ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनका पर्यटकीयस्थलहरु रानीमहल दरबार, अर्गली दरबार, सेन दरबार जस्ता महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार र यसको बृहत् विकासका लागि मन्त्रालयबाट सहयोगको अपेक्षा गरेका छन् ।
नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्रमुख बालकुमारी थापाले स्वागत र नगर प्रवक्ता कपिलबहादुर खाँणले सञ्चालन गरेका हुन् ।
Comments are closed.