वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरेका छन् । आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौंस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो ।
पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताएका छन् ।
“कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी रु ६५ का दरले हामीले बिक्री ग¥यौँ”, उनले भने, “कम्पनीबाट २–३ जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।” कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाइएको उनले बताए । किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी रु ६५ का दरले बिक्री गरिसकेका छन् ।
“दुई पक्षबीच भएको सम्झौताबमोजिम आफ्नोमात्रै अहिलेसम्म ६० क्विन्टल सुन्तला काठमाडौं पठाइसकेको छु”, उनले भने, “अब ३–४ क्विन्टल सुन्तला टिप्नै बाँकी छ त्यो पनि पठाउने तयारी भइरहेको छ ।” यस वर्ष बिक्री भएको सुन्तलाबाट रु ३ लाख ९० हजार आम्दानी भइसकेको र अब रु २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उनी बताउँछन् ।
गत वर्ष पनि सुन्तला बिक्रीबाट रु ३ लाख २५ हजार आम्दानी गर्नुभएका लामिछानेले यस वर्ष रु चार लाखभन्दा बढी आम्दानी गरेका छन् । १० वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थालेको लामिछानेको बगैँचामा हाल ५५० बोट सुन्तला छन् । ती बोटमध्ये हाल ३५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत ५ वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थालेका हो ।
“१३ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ”, उनले भने, “सबै बोटले उत्पादन दिँदा आम्दानी झण्डै दोब्बरले वृद्धि हुन्छ ।” गत वर्ष पनि काठमाडौंकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उनी बताउँछन् । लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।
स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् । व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो । रासस
Comments are closed.