इनरूवा (सुनसरी) । सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–६ का नगेन्द्रकुमार साह पहिले एक बिघा १० कट्ठामा गहुँखेती गर्थे । उनले रू एक लाखदेखि एक लाख ५० हजारको लागतमा एक बिघा १० कट्ठामा गहुँखेती गर्दै आएका छन् । उनले गहुँखतीबाट वार्षिक रूपमा १० क्विन्टलदेखि १५ क्विन्टलसम्म उत्पादन हुँदै आएको थियो । उनलाई गहुँबाट वार्षिकरूपमा रू ७२ हजार आम्दानी हुँदै आएको थियो ।
पछिल्लो समय साह गहुँखेती छोडेर मकैखेती गर्नका लागि सुरू गरेका हुन् । उनले अहिले एक बिघा १० कट्ठा खेतमा मकैखेती गरेको जानकारी दिए । रू एक लाखदेखि एक लाख ५० हजारको लगानीमा गरेको मकैखेतीबाट रू ४ लाखसम्म आम्दानी गर्ने लक्ष्यका साथ एक बिघा १० कट्ठामा मकैखेती गरेको उनले बताए । मकैखेतीबाट वार्षिकरूपमा १ सयदेखि १२० क्विन्टलसम्म उत्पादन गरेर वार्षिकरूपमा रू चालाख आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साह बताउँछन् ।
गहुँखेतीमा कम उत्पादन हुने र कम आम्दानी हुने गरेका कारणले पछिल्लो समय मकैखेतीतर्फ आकर्षित भएको साहको भनाइ रहेको छ । साह सुनसरीका लागि उदाहरणका पात्र मात्र हुन् । पछिल्लो समय सुनसरी सदरमुकाम इनरूवासहित भोक्राहा, हरिनगर, बर्जु, गढी र देवानगञ्ज गाउँपालिकाका कृषक मकैखेतीतर्फ बढी आकर्षित भएका छन् ।
जिल्लामा पछिल्लो समय वार्षिकरूपमा गहुँखेती गर्ने कृषकको सङ्ख्या क्रमिकरूपमा घट्दै गएको छ भने मकैखेती गर्ने कृषकको सङ्ख्या बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ मा सुनसरीमा १२ हजार २४८ हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा आव २०८१/०८२ मा १२ हजार १२५ हेक्टर क्षेत्रफलमा किसानले गहुँखेती गरेको कार्यालय प्रमुख सिंह बताउँछन् ।
त्यसैगरी आव २०८०/०८१ मा सुनसरीमा १० हजार ६४१ हेक्टर क्षेत्रफलमा मकैखती गरेका र यस आवमा लगाउने क्रम जारी रहेका कारणले यसमा वृद्धि हुने गरेको छ । आव २०८०/०८१ मा ३ दशमलव ३७ मेट्रिक टन गहुँको उत्पादकत्व रहेकोमा सोही आर्थिक वर्षमा ७ दशमलव ८ मेट्रिक टन प्रतिहेक्टर मकैको उत्पादकत्व रहेको छ ।
मकैखेतीमा उत्पादकत्व बढी हुनु, बजार भाउ बढी पाउनु र कुखुराको दाना बनाउनका लागि प्रयोग गर्नुलगायतका कारणले बढी मात्रमा जिल्लाका किसान मकैखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख सिंहको भनाइ छ । सुनसरीमा हाइब्रिड ३३, ५५, ७७, रामपुरकम्पोजीट, कारगील, अल्राउण्डरलगायतका जातका मकैखेती हुने गरेको छ ।
Comments are closed.