२० औँ धनमाया तामाङ स्मृति दिवस सम्पन्न

धरान (सुनसरी) । ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २० औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी सङ्गीत साधना प्रतिष्ठान नेपालको सभाहलमा साङ्गीतिक कार्यक्रको आयोजना गरी उनको योगदानको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो ।

धनमायाको पुण्यतिथिको अवसरमा शुक्रबार उनका रचना र गीतहरूलाई गाएर उनीप्रति श्रद्भाव अर्पण गरिएको सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनी भन्छन्, “उहाँको पुण्यतिथिको अवसरमा आठवटा गीत प्रस्तुत गरिएको थियो भने उहाँको जीवनीबारे छलफल र चर्चा गरिएको गरियो ।”

नेपाली परम्परागत मौलिक संस्कार संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै महासचिव केसीले धनमाया तामाङबाट नेपाली मौलिक संगितको संरक्षण प्रवर्द्धनका लागि गर्नुभएको महत्त्वपूर्ण योगदान पुगेको स्मरण गरे । विशेषगरी नेपालको पश्चिम भागमा प्रचलित भाकालाई पूर्वमा प्रचारप्रसार गरेर पूर्व र पश्चिमको भावनालाई जोड्ने संस्कृति विकासमा निकै सहयोग पुगेको उनले बताए ।

धनमाया तामाङले आफ्नो जीवनलाई नेपाली मौलिक सङ्गीत संस्कृतिको प्रवर्द्धनका लागि खर्चिइन् । जुन सम्मानित कार्य रहेको छ । भूगोलले पूर्व–पश्चिम रहे पनि पश्चिम भागमा रहेका सङ्गीत संस्कृतिलाई पूर्वी भागमा फैलाउने जोड्ने काम यस कार्यक्रमले गरेको छ ।

नेपालमै पहिलोपटक ठाडो भाका, ढिलो भाकार दाई गीत रेकर्ड गरी श्रोता दर्शकमाझ ‘धन’ २०५८ अडियो र २०६३ मा अडियो ‘भिजुअल’ प्रस्तुत गरेपछि उनी नेपाली जनमानसमा निकै लोकप्रिय बनेका थिए । धनमाया तामाङ नेपालको लोकगीतको उर्बर भूमि लमजुङमा २०१७ साल फागुन २० गते जन्मिएकी हुन् ।

उनले २० थरीभन्दा बढी लोकभाका गाउन सक्ने लोप हुन लागेका ठेट लोकगीतहरू नेपालमै पहिलोपटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर ‘धन’ अडियो तथा म्युजिक भिडियो प्रस्तुत गरी लोकसङ्गीत संरक्षण र सम्वर्द्धनको क्षेत्रमा उनको ठूलो योगदान रहेको छ ।

मधुरीमा फूलकुमारी महतो सम्मान २०५८ द्वारा समेत सम्मानित भएकी उनी ७५ वर्षको उमेरमा २०६१ साल पुस ५ गते काठमाडौंमा स्वर्गवास भएको थियो ।

You might also like

Comments are closed.