बागमती प्रदेशमा धान उत्पादन घट्यो

बागमती । बागमती प्रदेशमा यस वर्ष धानबाली उत्पादनमा ह्रास आएको छ । गत असोज ११ र १२ को वर्षासँगै आएको बाढीपहिरोले क्षति पु–याउँदा धान १ दशमलव ३७ प्रतिशतले उत्पादनमा ह्रास आएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशमा कुल १ लाख ५ हजार ४१५ हेक्टरमा धानबाली लगाइएकामा प्रतिहेक्टर ३ दशमलव ८७ मेट्रिक टनका दरले ४ लाख ८ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको निर्देशानलयका कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

अघिल्लो आव २०८०/८१ मा १ लाख ९ हजार १५१ हेक्टरमा धानबाली लगाइएकामा ४ लाख १३ हजार ९८८ मेट्रिक टन उत्पादन भएको थियो । कुँवरका अनुसार गत वर्षको तुलनामा यस वर्ष चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोटमा धान उत्पादन बढे पनि अन्य जिल्लामा घटेको हो ।

बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २३ हजार ७ सय हेक्टरमा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले ९८ हजार ३५५ मेट्रिक टन धान उत्पादन भएको छ । नुवाकोटमा ११ हजार ६१५ हेक्टरमा प्रतिहेक्टर ४ दशमलव १७ प्रतिशतका दरले ४८ हजार ३९० मेट्रिक टन, धादिङमा ११ हजार ३१२ हेक्टरमा प्रतिहेक्टर ३ दशमलव ८९ प्रतिशतका दरले ४४ हजार ४ मेट्रिक टन उत्पादन भएको छ ।

काठमाडौंमा यस वर्ष ४ हजार ९२४ हेक्टरमा प्रतिहेक्टर ४ दशमलव ७१ प्रतिशतका दरले २३ हजार १९२ मेट्रिक टन, ललितपुरमा ४ हजार १७८ हेक्टरमा प्रतिहेक्टर ४ दशमलव ५३ प्रतिशतका दरले १८ हजार ९२६ मेट्रिक टन र भक्तपुरमा ३ हजार ५९९ हेक्टरमा प्रतिहेक्टर ५ दशमलव ५१ प्रतिशतका दरले १९ हजार ८२३ मेट्रिक टन धान उत्पादन भएको बागमती प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।बाढीपहिरोबाट बढी प्रभावित मकवानपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोकलगायत जिल्लामा यस वर्ष धान कम उत्पादन भएको छ ।

मकवानपुरमा सात हजार १७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलव ९ प्रतिशतका दरले २७ हजार ३६६ मेट्रिक टन, काभ्रेमा ८ हजार १९ हेक्टरमा प्रतिहेक्टर ३ दशमलव ९१ प्रतिशतका दरले ३१ हजार ३५४ मेट्रिक टन, रामेछापमा ७ हजार ८८० हेक्टरमा प्रतिहेक्टर २ दशमलव ५४ प्रतिशतका दरले २० हजार १५ मेट्रिक टन र सिन्धुपाल्चोकमा ७ हजार ९ सय हेक्टरमा प्रतिहेक्टर २ दशमलव ९२ प्रतिशतका दरले २३ हजार ६८ मेट्रिक टन धान उत्पादन भएको हो ।

दोलखामा २ हजार ८७२ हेक्टरमा प्रतिहेक्टर २ दशमलव ५० प्रतिशतका दरले ७ हजार ६८ मेट्रिक टन र रसुवामा १ हजार ९९ हेक्टरमा प्रतिहेक्टर २ दशमलव २३ प्रतिशतका दरले २ हजार ४५१ मेट्रिक टन धान उत्पादन भएको कृषि विज्ञ कुँवरले जानकारी दिए ।

बाढीपहिरोले ३७ हजार हेक्टरमा लगाइएको ५ हजार ६ सय मेट्रिक टन धानबालीमा क्षति पुगेको जनाइएको छ । समयमा वर्षा र रोग कीराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिए पनि बाढीपहिरोले क्षति पुर्याएपछि उत्पादनमा घटेको हो । रासस

You might also like

Comments are closed.