थोरै सङ्ख्यामा पशु पालेरै मासिक १ लाख बढी आम्दानी

गलकोट (बागलुङ) । यहाँको बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षको भयो । मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको ४ वर्ष भएको छ ।

सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका उनले सुरुका २ वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन् ।

उनको फार्ममा हाल ५ वटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कँदै गरेका चारवटा पाडी छन् ।

दूध बेचेर मासिक रु १ लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र रु १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूधमात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर ५ हजारका दरले मल बिक्री गर्ने गरेका छन् । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको ५ सय लिटरको ३ सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ ।

पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छन् । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि व्यावसायिक पशुपालन सम्भव भएको उनको भनाइ छ । रासस

You might also like

Comments are closed.