अर्घाखाँची । अन्तरपाटी महिला सञ्जाल अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा आयोजना गरिएको उपप्रमुख कप नगरस्तरीय महिला भलिबल खेल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको उपाधि जनज्योति माविले जितेको छ ।
सन्धिखर्क नगरपालिकाका ११ माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगिताको आज भएको फाइनल खेलमा अर्घाखाँची आवासीय माविलाई सोझो सेटमा हराउँदै जनज्योति मावि विजेता बनेको हो । आयोजक अन्तरपाटी महिला सञ्जालका अध्यक्ष चन्द्रा गैरेका अनुसार प्रतियोगितामा अर्घाखाँची आवासीय मावि द्वितीय, गौरीशङ्कर इङलिस बोर्डिङ स्कुल तृतीय र भगवती मावि शङ्खेटारीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टोलीले ट्रफी, मेडल, प्रमाणपत्रसहित क्रमशः रु २० हजार, रु १५ हजार, रु ८ हजार र रु ५ हजार प्राप्त गरेका छन् । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त प्रतियोगिता शुक्रबारदेखि सन्धिखर्कको टुँडिखेलमा सुरु भएको थियो ।
छात्राहरु खेलमा पनि अब्बल छन् भन्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सन्धिखर्क नगरका उपप्रमुख मिश्रा आचार्यले बताइन् । रासस
Comments are closed.